Main News

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ६ वर्षमा बन्द (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ९ गते २०:५५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ६ वर्षमा बन्द (भिडियो रिपोर्टसहित)

९ पुस २०७८ काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले ध्वस्त संरचनाहरुको पुनर्निर्माणका लागि स्थापना गरिएको स्वायत्त निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद शुक्रबारबाट सकिएको छ। तर पुनर्निर्माणको काम ९० प्रतिशत मात्र सम्पन्न भएको छ ।

त्यसका लागि हालसम्म पौने चार खर्ब रुपैयाँ खर्च भइसकेको छ । प्राधिकरणको अब बाँकी रहेको कामको जिम्मेवारी सम्बन्धित मन्त्रालय र विभागलाई हस्तान्तरण गरिएको छ।

२०७२ वैशाख १२ को विनाकाशकारी भूकम्प र त्यसपछि आएको परकम्पबाट ८ हजार ७ सय ९० जनाको ज्यान गएको थियो । ८ लाख ६६ हजार २ सय ७ निजी आवास, २ हजार ६ सय ५६ सरकारी भवन, ९ सय २० सांस्कृतिक सम्पदा, ७ हजार ५ सय ८३ विद्यालय भवन र १ हजार १ सय ६४ स्वास्थ्यचौकी क्षतिग्रस्त भएका थिए ।

त्यसमध्ये हालसम्म निजी आवासतर्फ ९२ प्रतिशत, विद्यालय भवन ९० प्रतिशत, सरकारी भवन ९६ प्रतिशत तथा स्वास्थ्य चौकीका भवन पुनर्निर्माण ८९ प्रतिशत काम सम्पन्न भएको छ । सबैभन्दा कम सम्पदा पुनर्निर्माणतर्फ ८५ प्रतिशत काम भएको छ । मौलिकता जोगाउँदै निर्माण कार्य अघि बढाउनुपर्ने भएकाले सम्पदाको पुनर्निर्माणको काम केही ढिला भएको बताइएको छ ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा ९३० बमोजिम गत वर्ष प्राधिकरणको अवधि एक वर्ष थप गरिएको थियो । तर पनि कोरोनाको असर र वित्तीय स्रोतको अपर्याप्ततका कारण पुनर्निर्माणको काम शतप्रतिशत सम्पन्न हुन सकेको छैन ।

गत असार मसान्तसम्म ३ खर्ब ७१ अर्ब रूपैयाँ खर्च भइसकेको छ। बाँकी रहेका पुनर्निर्माण गर्न र काम भइसकेका आयोजनाको रकम भुक्तानी गर्न ८० देखि ९० अर्ब रूपैयाँ आवश्यक पर्ने अनुमान छ । ति सबै काम र भुक्तानी अब सम्बन्धित मन्त्रालय र विभागले गर्नेछन् ।

२०७२ सालको भूकम्पपछि सबै पुनर्निर्माणको सम्पन्न गर्न करिब ७ खर्ब रुपैयाँ चाहिने आंकलन गरिएको थियो । भूकम्पलगत्तै सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा करिब ४ खर्ब रुपैयाँ प्रतिबद्धता प्राप्त भयो । यद्यपि वास्तविक प्रतिबद्धता सवा ३ खर्ब बराबरको हुन आएको छ । प्रतिबद्धताअनुसारको रकम उपलब्ध नहुँदा पुनर्निर्माणका कतिपय काम अघि बढ्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *