राजनीति

एमसीसीलाई लिएर सत्तारुढ र प्रमुख विपक्षी दल स्वार्थको रोटी सेकाउँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते ६:२१
एमसीसीलाई लिएर सत्तारुढ र प्रमुख विपक्षी दल स्वार्थको रोटी सेकाउँदै (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई लिएर दलहरुले राजनीतिक रोटी सेक्न थालेका छन् । सत्तारुढ गठबन्धनमा एमसीसीले विवाद बढाउँदा प्रमुख प्रतिपक्षी एमालेले सरकारकै असफलताको विल्ला भिराएको छ ।

एमसीसी संसदबाट पारित गर्न अमेरिकी दबाब बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई टोक्नु न बोक्नुको अवस्थामा पुर्‍याएको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बलमा सत्ताको भर्याङ चढेका प्रधानमन्त्री देउवालाई जसपाबाहेक तीन दलले एमसीसीमा तत्काल साथ नदिने संकेत देखाएका छन् ।

सत्तारुढ दलमा देखिएको यो विवाद परबाट हेरेको एमालेले आगोमा घिउ हाल्ने काम गर्दै आएको छ । संसद चल्न पनि नदिने अनि एमसीसीबारे प्रष्ट धारणा पनि नबनाउने मनस्थितिमा एमाले देखिएको हो । सोमबार गृहजिल्ला दाङ पुगेका एमाले महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले धारणा प्रष्ट नपारेर एमसीसीका लागि एमालेको मुख ताक्नु सरकारको असफलता भएको टिप्पणी गर्नुभयो ।

महासचिव पोखरेलभन्दा एक कदम अघि बढेर उपाध्यक्ष सुरेन्द्र पाण्डेले त कुनै पनि विदेशी सहायता विना शर्त नेपाल नआउने भन्दै सत्तारुढ गठबन्धनले एमसीसीलाई अन्योलमा पारेको बताउनुभयो ।

एमालेले एमसीसीकै मेसोमा गठबन्धन फुटाउने मौन रणनीति लिएको प्रष्ट हुन्छ । एमाले रणनीति गठबन्धनले नबुझेको होइन । जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसीको बाहनामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभयो । काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठनको कार्यक्रममा एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बिचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने भट्टराईको भनाइ छ ।

सत्तारुढ गठबन्धन घटकहरु छलफलबाटै साझा निष्कर्ष निकाल्ने सुगा रटाइमा रहेपनि माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अहिलेकै अवस्थामा संसदबाट पारित गर्ने पक्षमा छैनन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका कतिपय शर्तहरु मान्य नहुने बताउनुभएको छ ।

गठबन्धनको प्रमुख घटक कांग्रेस भने जसरी भए पनि एमसीसी पारित गर्ने पक्षमा छ । तर, सत्ता साझेदारहरुले साथ नदिँदा देउवालाई दबाब बढेको छ । जुनसुकै परिस्थितिमा सम्झौता गर्न सक्ने देउवाले गठबन्धनमा गडबड भइरहे एमालेले चाहे जसरी अघि बढ्न समय नलाग्ने उहाँलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्