राजनीति

पार्टीलाई ओलीले ‘कम्पनी’ मा परिणत गरेको एमाले नेताकै आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २९ गते २०:४९
पार्टीलाई ओलीले ‘कम्पनी’ मा परिणत गरेको एमाले नेताकै आरोप (भिडियो रिपोर्टसहित)

२९ मंसिर २०७८ काठमाडौं । मुलुकका दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ।

एमालेको चितवनमा सम्पन्न महाधिवशेन पछि अध्यक्ष केपी ओलीले पार्टीका स्थायी समिति र पोलिट्व्युरोसमेत चयन गर्नुभएको छ। विधान अनुसार केन्द्रीय समितिमा मनोनित हुने दश प्रतिशतसमेत ओलीले मनोनयन गरिसक्नुभएको छ। तर एमालेको १० औं महाधिवेशन र आजसम्म आउँदा एमालेलाई लागेको पार्टी कम र प्रालि बढी भन्ने आरोपलाई स्वयम् एमाले नेताहरुले समेत स्वीकारेका छन् ।

चितवनको नारायणी किनारबाट आरम्भ एमाले महाधिवेशन भक्तपुरको पार्टी प्यालेसमा केन्द्रीय समितिको दोस्रो बैठकसम्म आउँदा एमालेमाथि लागेको पार्टी कम र प्राइभेट लिमिटेड बढीको आरोपले थप आकार पाएको छ।

एमालेलाई पार्टी विभाजनपछि अध्यक्ष ओलीले गोजीको कम्पनी बनाउनुभो भन्ने आरोपप्रति ओली समर्थकहरुले जति आलोचना गरेपनि यो आवाज स्वयम् पार्टीभित्रैबाट उठेको छ। मलाई चुनाव हार्न दिनुस् भन्ने अनुनयलाई समेत लत्याएर यीनलाई भोट नहाल भनेर लिस्ट बाँडिएका नेता घनश्याम भुसाल वर्तमान एमाले कम्पनीभन्दा फरक नभएको बताउनुहुन्छ ।

ओली र समर्थकले चितवनमा भएको महाधिवेशनमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरेको दाबी गरेका छन् । तर ओली र समर्थकको दाबीलाई आलोचक र विरोधीले सर्वसम्मतको नाममा मौलिक हकको पनि हनन भनेका छन् । कांग्रेसका एक नेताले त महाधिवेशनको नाममा एमालेले ओलीवेशन गरेको आरोप लगाउनुभएको छ। तर अचम्मको कुरा त स्वयम् एमाले नेताले चितवन अधिवेशनले लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाउनुभएको छ।

लोकतान्त्रिक, त्यसमा पनि एमालेजस्तो पार्टी विधि र विधानबाट चल्नुपर्छ भन्ने अपेक्षा स्वभाविक हो । तर एमाले अध्यक्ष ओलीले खल्तीबाट स्थायी समिति, पोलिट्व्युरो र केन्द्रीय सदस्य चयन गरेकोमा पनि आलोचना भएको छ। यदि एमाले कम्पनीका साटो पार्टी हो भने विधि र विधान त होला ? विधि, विधान र मापदण्डका आधारमा मनोनयन र चयन होला । तर स्वयम् एमालेका जिम्मेवार नेताले एमालेको हालको मापदण्ड भनेकै ओलीको प्रिय हुनु भएको स्वीकारेका छन् ।

एमालेले गुटका कारण फुटेको पीडामा मलम लगाउन र ओलीको नेतृत्वमा आगामी चुनाव जित्न ओलीले सर्वसम्मत् नेतृत्वको पहल गरेको भन्ने नेताहरुको दाबीलाई पनि नेता भुसालले चीसो पानी हालिदिनुभएको छ । उहाँले एमालेमा विचारका आधारमा गुट चलाउने पनि खुलम्खुला घोषणा गर्नुभएको छ।

भुसालले पार्टीलाई कम्पनीबाट दलका रुपमा रुपान्तरण गर्न ओलीको व्यावहार बाधक रहेको आरोप लगाउनुभएको छ। भुसालले त ओलीको कम्पनी मालिकको बानीमा सुधार नभए विशेष महाधिवेशन गर्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्