राजनीति

कांग्रेसको १४औं महाधिवेशनमा देखिएको फरक दृश्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २५ गते २०:२८
कांग्रेसको १४औं महाधिवेशनमा देखिएको फरक दृश्य (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसमा लामो समयदेखि समूहगत सहकार्य गरेका थुप्रै नेताहरु यो महाधिवेशनबाट अलग्गिएका छन् । नेतृत्व चयनको प्रक्रियामा दुई समूहबीच प्रतिस्पर्धा हुने गरेको सामान्य अभ्यासभन्दा फरक दृष्य यो महाधिवेशनमा देखिएको छ ।

नेपाली कांग्रेसले पछिल्ला केही महाधिवेशनयता निर्वाचनबाटै नेतृत्व चयन गर्दै आएको छ । पार्टीमा स्पष्ट रुपमा देखिएको गुटको छायाँ जिल्लादेखि केन्द्रसम्मको अधिवेशनमा देखिने गरेको छ । केन्द्रीय महाधिवेशनअघि सम्पन्न भएका प्रदेश र जिल्ला अधिवेशनहरुमा समेत पार्टीमा समूहगत रुपमा विभाजित भएका नेताहरु दुई पक्षीय प्रतिस्पर्धामा उत्रिएका थिए ।

एकातिर शेरबहादुर देउवा पक्ष र अर्कोतिर देउवाइतरका गुटहरुको साझा उम्मेदवार उठाउने अभ्यास जिल्ला अधिवेशनहरुमा देखिएको थियो । तर केन्द्रीय महाधिवेशनमा भने सभापतिका आकांक्षी जति सबै छुट्टाछुट्टै प्यानल निर्माण गरेर चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको नेतृत्व चयनका लागि हुने यस्ता प्रतिस्पर्धालाई आन्तरिक लोकतन्त्रको अभ्यासका रुपमा कांग्रेसले विश्लेषण गर्ने गरेको छ । तर भएभरका गुटले महाधिवेशनमा प्यानल नै बनाएर प्रतिस्पर्धा गर्दा यसपटक लोकान्त्रिक अभ्यासभन्दा बढी अस्वस्थ प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका ६ जनामध्ये ४ उम्मेदवार पदाधिकारीको प्यानलसहित मैदानमा छन् । पदाधिकारीमा नाम चढाइएका कतिपय अनुहारहरु बिल्कुलै नयाँ छन् भने कतिपयलाई त खाली ठाउँ भर्नका लागि मात्रै नाम राखिएको जस्तो देखिन्छ ।

अध्यक्षबाहेक दुई उपाध्यक्ष, दुई महामन्त्री र ८ सहमहामन्त्री गरी १३ जनाको पदाधिकारी प्यानलमा कतिपय अनपेक्षित नामहरुसमेत समावेश गरेर जबरजस्ती प्यानल बनाउने कोशिस गरेको देखिन्छ । यी प्यानलहरु उम्मेदवारी दर्तादेखि मतगणनाको नतिजा आउने बेलासम्मलाई सिमित भएनन् भने गुटको चिराले कांग्रेसलाई आगामी आम निर्वाचनमा धक्का पुग्नसक्ने आँकलन गरिएको छ ।

गुटगत खिचातानीकै कारण यसअघिका आम निर्वाचनमा कतिपय उम्मेदवारले हार व्यहोर्नुपर्ने तितो सत्य भोगेको कांग्रेसका लागि महाधिवेशनमा देखिएको प्यानल बनाउने होडले थप कमजोर त बनाउँदैन भन्ने आशंका महाधिवेशन प्रतिनिधिहरुले व्यक्त गरेका छन् ।

पार्टीमा फरक मत र विचार राख्ने नेताहरुलाई सिध्याउने राजनीतिक प्रवृत्ति हाम्रो मुलुकमा छ । ठूला राजनीतिक दलहरुले यो अभ्यासलाई सबैभन्दा बढी निर्वाह गर्ने गरेका छन् । भर्खरै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा देखिएको भित्तामा पु¥याउने शैली कांग्रेसको राजनीतिमा जरा गाडेर बसेको छ ।

सभापतिको बलियो उम्मेदवारका रुपमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवा आलोचकहरुविरुद्ध वैरभाव राख्ने नेताका रुपमा परिचित हुनुहुन्छ ।

आफ्नै भान्साको टिम लिएर नेतृत्वमा पुग्ने अस्वस्थ होडका कारण तरहतरहले बनेका प्यानलहरु गुटमा परिणत हुने र गुटहरुमाथि निषेधको छुरी चलाउन थालियो भने कांग्रेसले महाधिवेशनमा बाँडिरहेको फेरि पहिलो पार्टी बन्ने सपना महाधिवेशन सकिएकै दिनदेखि स्खलित हुँदै जाने देखिन्छ । महाधिवेशनबाट चुनिने नेतृत्वले नयाँ उर्जालाई गुट व्यवस्थापनमा परिचालन गर्न नसके कांग्रेस थप कमजोर हुने हो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्