राजनीति

कांग्रेस सभापतिमा को बलियो ? यस्तो छ समीकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २० गते २०:२५
कांग्रेस सभापतिमा को बलियो ? यस्तो छ समीकरण (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७८ काठमाडौं । १४औँ महाधिवेशनमा नीतिभन्दा नेतृत्वलाई प्राथमिकतामा राखेको नेपाली कांग्रेसको समग्रमा संस्थापन र संस्थापन इतर समूहकै भिडन्त हुने निश्चित छ । तर, संस्थापनमा दुई र इतरमा सभापतिका आकांक्षी चार जना देखिएका छन् ।

स्थानीय, जिल्ला र प्रदेश तहको निर्वाचन सम्पन्न भइसक्दा पार्टी सभापति शेरबहादुर देउवा तुलनात्मक रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेलभन्दा केही बलियो देखिनुभएको छ । यसले इतर समूहलाई साझा उम्मेदवार बनाउन दबाब परेको छ ।

नेपाली कांग्रेसको तल्लो तहमा सम्पन्न अधिवेशनको नतिजाले सभापति देउवालाई केही बलियो देखाएको छ । सभापतिमै दोहोरिने घोषणा गरिसकेका देउवा बलियो देखिँदा संस्थापन इतरलाई साझा उम्मेदवार खडा गर्न दबाब बढेको छ । सभापतिसहितका पदाधिकारीमा साझा उम्मेदवार खडा गर्नका लागि संस्थापन इतरका युवा नेताहरुले नेतृत्वलाई दवाब बढाउने तयारी गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुँदै छ । दुई नम्बर प्रदेश बाहेक धेरै स्थानमा नेपाली कांग्रेसका वडा, गाउँनगर, प्रतिनिधिसभा क्षेत्र, प्रदेश क्षेत्र र प्रदेशसभा अधिवेशन सम्पन्न भैसकेका छन् ।

तल्ला तहमा सम्पन्न अधिवेशनको नतिजाले सभापतिमा पुनः दोहोरिने चाहना राखेका सभापति देउवा पक्ष आफ्नो समूहबाट अलगिएको उपसभापति विमलेन्द्र निधि पक्षबाट खासै घाटा नपर्ने निश्कर्षमा पुगेको छ । ६ वटा प्रदेशमा सम्पन्न प्रदेशसभा अधिवेशनमा देउवा–सिटौला समूहले चार स्थानमा जित हात पार्दा इतरपक्षले दुई स्थानमा चित्त बुझाउनु पर्यो ।

यो नतिजाले पक्कै पनि संस्थापन पक्षलाई उत्साहित बनाएको हुनु पर्छ तर इतर पक्ष भने चुनौति खडा गरेको मान्छ । केन्द्रीय सदस्य तथा सहमहामन्त्रीका उम्मेदवार आफ्नो समूहबाट साझा उम्मेदवार दिनुपर्ने दवाव पहिले देखिनै रहेको र अहिलेको नतिजाले दवाव थप बढेको उहाँको स्वीकारोक्ति छ ।

विशेषगरी चार जना सभापतिका आकाँक्षी रहेका इतरपक्षलाई केन्द्रीय महाधिवेशनमा एक जना मात्रै सभापतिको उम्मेदवार बनाउनु पर्ने दवाव छ । तर प्रदेशसभाको अधिवेशन र केन्द्रीय महाधिवेशनको प्रकृति फरक भएको इतर समूहका नेता तथा सहमहामन्त्रीका उम्मेदवार पाण्डेको भनाइ छ ।

साझा उम्मेदवार दिनुपर्ने दवावकै कारण आफ्नो समूहका युवा नेताहरुले नेतृत्वलाई दवाब बढाउने पाण्डेको भनाइ छ ।

प्रदेशसभा अधिवेशन अघि साझा उम्मेदवार बनाउनका लागि छलफल भएपनि प्रदेशसभा अधिवेशनकै कारण देखाउँदै इतरपक्षले आफ्नो छलफल स्थगित गरेको थियो । नेताहरु काठमाडौं फर्किने क्रममा रहेकाले अब केन्द्रीय नेतृत्वका लागि साझा उम्मेदवार खडा गर्न छलफल सुरु हुने इतरपक्षका नेताहरुको भनाइ छ ।

यसो त प्रदेश सभा अधिवेशनकै दौरान पोखरामा रहेका बरिष्ठ नेता पौडेल र महामन्त्री डाक्टर शशांक कोइरालाले आफ्नो समूहबाट साझा उम्मेदवारी दिनुपर्ने भन्दै त्यसका लागि आफुहरु त्याग गर्न तयार रहेको सन्देश दिनु भएको थियो । तर यो समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने अडान राख्दै आउनुभएको छ । तर पछिल्लो मतपरिणामले भने दुवै नेतालाई पनि आफ्नो समूहबाट साझा उम्मेदवारी दिन दवाब भने पक्कै परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्