राजनीति

अहंकार र दम्भले ओतप्रोत ओलीले अरुलाई यी गुणबाट मुक्त हुन उपदेश दिएपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १५ गते २१:१५
अहंकार र दम्भले ओतप्रोत ओलीले अरुलाई यी गुणबाट मुक्त हुन उपदेश दिएपछि…(भिडियो रिपोर्टसहित)

१५ मंसिर २०७८ काठमाडौं । मुलुकको राजनीतिमा ओली प्रवृत्ति नामको भास्य तयार गर्न सफल भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेताहरुलाई भने अहंकार, दम्भ र घमण्ड त्याग्न निर्देशन दिनुभएको छ । आफ्नै अलोकतान्त्रिक व्यवहारबाट आलोचित ओलीले नेताहरुलाई दिएको यस्तो निर्देशन अनौठो सुनिएको छ ।

पार्टीको दशौँ महाधिवेशनबाट अध्यक्षमा विजयी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नव निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई सम्बोधन गर्दै नेतामा हुनुपर्ने गुणहरुको व्याख्या गर्नुभयो । उहाँले अहङ्कार, दम्भ र घमण्ड हुन नहुने र त्यस्ता अवगुण भएको व्यक्ति नेता बन्न नसक्ने बताउनुभयो ।

चितवनको नारायणी किनारमा ५ लाख कार्यकर्ता उतारेर दशौँ महाधिवेशनको भव्य उद्घाटन गरेपछि नेतृत्व चयनमा एकलौटीको हरसम्भव प्रयास गरेका ओलीले अरुलाई अहंकार, दम्भ र घमण्डको पाठ पढाउन कत्ति पनि हिचकिचाउनु भएन ।

समकालीन नेतामा सबैभन्दा धेरै दम्भ, अहंकार र घमण्डले भरिएका ओलीले पार्टी अध्यक्षमा निर्वाचित भएपछि गोजीबाट निकालिएका नेताहरुलाई यस्तो आदेश दिनु स्वभाविकै थियो । ओलीको नेतृत्वमा रहँदासम्म एमालेभित्र, अहंकार, दम्भ र घमण्ड त के आत्मसम्मानको कुरा गर्ने हिम्मत पनि कसैले गर्नेछैन । ओलीले भनेपछि ढुंगोलाई माटो र माटोलाई ढुंगो मान्न तयार नेताहरु यो आदेश शिरोपर गरेर बस्लान् नै ।

संसद विघटन, नेकपा विभाजन र एमालेभत्रको विद्रोहपछि ओलीको अहंकार, दम्भ र घमण्ड घट्ने आम अपेक्षाविपरीत त्यो झन बढेर गएकै हो । त्यसैले ओलीको बोली र व्यवहारलाई ओली प्रवृत्तिका नामले पुकारिन थालेको छ ।

पार्टीभित्रको अभिव्यक्ति स्वतन्त्रता, आलोचनात्मक विचार र आन्तरिक लोकतन्त्रलाई मृत्यु शय्यामा पुर्‍याइसकेपछि एमालेमा अहिले कि बा हुनुहुन्छ कि त भक्तजनरुपी एसमेनहरु । मनै राज्य हुँ, राज्य नै म हो भन्ने फ्रान्सका राजा लुई चौधौँको जस्तो म नै एमाले हुँ र एमाले नै म हो भन्ने दम्भ ओलीले दशौँ महाधिवेशनमा त देखाउनु भयो नै तत्कालीन नेकपाको विभाजनपछि पार्टीका हरेक स्थायी कमिटी, केन्द्रीय कमिटी तथा प्रथम राष्ट्रिय महाधिवेशनलगायतमा देखाइसक्नु भएको छ ।

यसैको शिलशिला थियो दशौँ महाधिवेशनमा सहमतिको रटान । पार्टीमा जबज भन्ने सिद्धान्त ज्यूँदैछ भन्ने प्रमाणित गर्न भीम रावललगायतका केही नेताहरुले देखाएको चुनाव लड्ने दुश्साहस बाहेक निर्वाचित भएका सबैजसो पदाधिकारी र सदस्यहरुले विवेक बन्धकी राख्न सम्झौता गरेकै हुन् । लाखौँ कार्यकर्ता उतारेर नारायणी किनारमा सर्वकालीन महान भनेकै ओली हुन् भन्ने सामग्री बजाइयो ।

सौराहामा ओलीको अगाडि कसैको बोली फुट्नु हुन्न भनेर प्रतिनिधिहरुको विचार राख्ने र मतदान गर्ने अधिकार नियन्त्रण गरियो । तै पनि जबजले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वीकार गर्छ भन्ने चट्टानी अडानी लिएर भीम रावलहरु चुनावमा पुगे । यही अडान राख्नेहरुमा अहंकार, दम्भ र घमण्ड देखेका ओलीले निर्वाचित भइसकेपछि सपथ ग्रहणको सामान्य परम्परागत अभ्यासलाई समेत लोप्पा खुवाउनु भयो । दृष्य त यस्तो देखियो, निर्वाचन अधिकृत हात खडा गरेर उभिएको उभियै भए शपथ खाने चाहीँ शपथ खुवाउन लागेको व्यक्तिजस्तो ।

नेपाली बृहत् शब्द कोषअनुसार अहङ्कारको अर्थ आफूलाई सर्वेसर्वा सम्झने क्रिया, भाव वा गुण, अभिमान, घमण्ड, सेखी, मपाईँ अनि रिस र क्रोध भन्ने बुझिन्छ । दम्भ भन्नाले बोक्रे खालको अभिमान, झुटो घमण्ड, आडम्बर, देखावटी स्वाङ, जालझेल, छल कपट भन्ने बुझिन्छ । घमण्ड भन्नाले आफ्नो बुद्धि, बल र सामथ्र्यलाई बेसी महत्व दिएर अरुलाई हेय ठानिने अहंभावनाको अनुचित तथा उग्र रुप, अभिमान, सेखी, तुजुक, हङकार, मैमतालाई बुझाउँछ ।

यीनै गुणले ओतप्रोत भएका ओलीले आफू बाहेकलाई भने यी गुणबाट मुक्त हुन उपदेश दिनुभएको छ । मुलुकको प्रमुख राजनीतिक दलका मुखियामा देखिएको यो स्तरको अधिनायकवादी व्यवहारले पार्टीभित्रको लोकतन्त्र त समाप्त पारि नै सकेको छ । फेरि सत्तामा पुगेपछि मुलुकको लोकतन्त्र चाँहि जोगिन सक्ला कि नसक्ला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्