राजनीति

परिमार्जन गर्न मिल्ने भए विधान महाधिवेशनको औचित्य के त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ११ गते २०:५५
परिमार्जन गर्न  मिल्ने भए विधान महाधिवेशनको औचित्य के त ? (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ चितवन । नेकपा एमालेले गोदावरीमा विधान महाधिवेशन गरेर तय गरेको केन्द्रीय कमिटीको संख्या चितवनमा गएर हेरफेर गरेको छ । नेतृत्वले चाहँदा जतिबेला चाह्यो त्यतिबेला यस्ता निर्णयहरु परिमार्जन गर्न सक्ने। गर्न मिल्ने भए विधान महाधिवेशनको औचित्य के त ?

नेकपा एमालेले गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा गरेको प्रथम विधान महाधिवेशनले पार्टीमा पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यहरुको संख्या निर्धारण गरेको थियो ।

विधान महाधिवेशनले नवौँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यको संख्यामा थप गरेर एक अध्यक्ष, एक वरिष्ठसहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । त्यस्तै स्थायी कमिटी सदस्यको संख्या ४५ पुर्‍यायो । अनि केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुने तय गर्‍यो ।

पार्टीमा रहेको असन्तुष्टहरुको ठूलै जमात, माओवादी केन्द्रबाट प्रवेश गरेका केही नेताहरु र अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुलाई भागबण्डा मिलाउन पदाधिकारी संख्या ठूलै बनाइएको हो । तर यो संख्या चितवनमा जारी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनकै क्रममा बसेको नवौँ केन्द्रीय कमिटीको अन्तिम बैठकले फेरि संशोधन गरेर २ सय २५ बाट ३ सय १ पुर्‍याएको छ ।

विधान महाधिवेशनमा तय गरिएको पदाधिकारी संख्यालाई १५ बाट १९ बनाइएको छ भने अब पार्टीमा कहिल्यै नराखिने भनिएको पोलिटव्यूरो पुनः ब्युँताइएको छ । ९९ सय सदस्यीय पोलिटव्यूरो बनाउने निर्णय भएको छ ।

यतिबेला आम एमालेजनमा उठेको प्रश्न के छ भने नेताहरुले चाहेपछि जतिबेला पनि सांगठनिक स्वरुप परिवर्तन गर्न पाउने भए त्यत्रो खर्च गरेर गोदावरीमा गरिएको विधान महाधिवेशनको औचित्य के त ? ६ हजारभन्दा बढी प्रतिनिधि ल्याएर सुझाव लिएको भन्ने अनि मनोमानी निर्णय गर्ने भए गोदावरी जात्रा केका लागि ?

अर्को कुरा गोदावरी सम्मेलनमा भएका समूहगत छलफलको रिपोर्टिङमा धेरैजसो समूहले आम निर्वाचन खर्चिलो बन्दै गएकाले चुनाव लड्नै कठिन अवस्था आएको भन्दै चुनावी प्रणाली कम खर्चिलो बनाउन सुझाएका थिए । तर एमालेले झण्डै २३ सय प्रतिनिधि सहभागी भएर महाधिवेशन सम्पन्न गर्नसक्ने ठाउँमा ५ लाख कार्यकर्ता बोलाएर चितवनमा करोडौँ रकमको खोलो बगायो ।

आफूलाई श्रमिकहरुको पार्टी भन्ने र कम्युनिष्ट दाबी गर्दै भोट बटुल्ने एमालेले नारायणी किनारमा मञ्च निर्माणमा मात्रै ५० लाखभन्दा बढी खर्च गरेको छ । साढे ७ करोडभन्दा बढी खर्च गरेर सम्पन्न गर्न लागिएको दशौँ महाधिवेशनबाट नेतृत्व भने सर्वसम्मतिमै छान्ने प्रयास जारी छ ।

एमालेले गरेको विधान महाधिवेशन होस् वा नेतृत्व चयनका लागि गरेको दशौँ महाधिवेशन यी सबैजसो शक्ति प्रदर्शन र शक्ति परीक्षणका लागि भएका हुन् भन्ने कुरा स्पष्टै देखिएको छ । गोदावरी विधान महाधिवेशन अध्यक्ष ओलीले गरेको संसद विघटन, सरकार सञ्चालनको अयोग्यता र आन्तरिक कलह व्यवस्थापनको असफलतालाई ढाकछोप गर्न र ओली रवैयालाई अनुमोदन गर्नमा केन्द्रित थियो ।

चितवन महाधिवेशन निकट भविस्यमा हुने विभिन्न तहका चुनावमा केन्द्रित भयो । तर प्रश्न भने त्यही दोहोरिन्छ, नेतृत्वले जतिबेला चाह्यो त्यतिबेला पार्टीको विधि, नीति र सिद्धान्त परिवर्तन गर्न सक्छ भने लाखौँ कार्यकर्ता बोलाएर गर्ने यी महाधिवेशन र महाधिवेशनभित्रका विभिन्न सत्रहरुको औचित्य के त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्