Main News

मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन गरिने

हिमालय टिभी
२०७८ मंसिर ६ गते १८:३०

६ मंसिर २०७८ काठमाडौं । निर्वाचन आयोगले ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन शुरु गर्ने भएको छ ।

७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता संकलन कार्यलाई निरन्तरता दिँदै यही मंसिर १७ गतेबाट स्थानीय तहको केन्द्रमा पनि नामावली संकलन गरिने आयोगले जनाएको हो ।

मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र तराई, भित्रि मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगका सहसचिव एवं प्रबक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

हरेक जिल्लामा दुई चरणमा संकलन कार्य सञ्चालन हुने भएकाले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा हुने समयबारे जानकारी लिन आयोगले आग्रह गरेको छ ।

१८ बर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *