आर्थिक

बैंकिक क्षेत्रमा बेथिति बढ्दो, विश्वसनियता घट्दो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ५ गते २०:३४
बैंकिक क्षेत्रमा बेथिति बढ्दो, विश्वसनियता घट्दो (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । पछिल्लो समय ठूलठूला वित्तीय अपचलनका घटना सार्वजनिक भइरहेका छन् । फर्जी कागजपत्रका आधारमा करोडौ रुपैयाँ कर्जा प्रवाह भएको, कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको जस्ता घटनाले वित्तीय क्षेत्रको विश्वासनीयतामाथि नै प्रश्न खडा गरेको छ ।

पछिल्लो एक दशकमा प्रहरीले बैंकिङ ठगीमा १५ सयभन्दा धेरैविरुद्ध मुद्दा चलाइसकेको छ । तर, पनि बैंकिङ क्षेत्रमा कर्मचारी र सञ्चालकहरुकै मिलेमतोमा हुने अनियमितता रोकिएको छैन बरु थप बढ्दै गएको छ। पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई ठूला कर्जा अपचलनसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

नक्कली धितो राखेर १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेपछि कुमारी बैंकका कर्मचारी र मूल्यांकनकर्तालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यस्तै १ हजार ४४२ जनाभन्दा बढी निक्षेपकर्ताको रकम अपचलन गरेको आरोपमा पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना यतिखेर प्रहरी हिरासतमै छन् ।

यस्तै सिन्धु विकास बैंकका कर्मचारीले बैंकिङ कारोबारबाट जम्मा भएको १ करोड ७९ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गरेको आरोपमा व्यूरोले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यी त पछिल्लो केही सातादेखि चर्चामा रहेका घटना मात्र हुन् । केही महिनाअघि महालक्ष्मी विकास बैंकले ललितपुरकी विष्णु महर्जनको ऋण वापतको साँवा र ब्याज चुक्ता गर्दा पनि धितो बराबरको २५ तोला सुन नक्कली भएको भन्दै फिर्ता दिन मानेन ।

यसको चौतर्फी आलोचना भएपछि ऋणीको सुन फिर्ता गर्न बैंक बाध्य भयो । नक्कली धितोमा ५ करोड बढी ऋण दिएपछि बैंक अफ काठमाण्डूका पूर्व सिईओ अजय श्रेष्ठ त थुनामा परे ।

उनी सर्वोच्चको आदेशपछि एक करोड धरौटीमा रिहा भएका थिए । केही वर्षअघि नेपाल बंगलादेश बैंक, हाल एनसीसीमा बिलय भएको तत्कालिन एपेक्स डेभलोप्मेन्ट र कुमारीसँगै बिलिन भएको देबः विकास बैंकमा पनि अर्बौं रुपैयाँ कर्जा अपचलन भएको थियो । यस्तो घटनाले बैंकको विश्वसनीयतालाई कमजोर बनाउँदै लगेको छ।

यति मात्र होइन नेपाल बंगलादेश बैंकको कर्जा प्रकरण लुकाउन त तत्कालिन राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नै सघाएको छानबिन समितिको ठहर थियो । आफ्नो हात जगन्नाथ शैलीमा जनताको पैसामा सञ्चालक र बैंकका उच्च अधिकारीहरुको रजाइँले सिमित व्यक्तिलाई लाभ भए पनि बैंक प्रतिको विश्वसनीयता गुम्नेमा भने गम्भीर बन्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *