राजनीति

एमालेको दशौं राष्ट्रिय महाधिवेशनः सौराहामा तयारी अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३० गते २०:४६
एमालेको दशौं राष्ट्रिय महाधिवेशनः सौराहामा तयारी अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७८ चितवन । यही मंसिर १० गतेदेखि चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारिएको छ । नारायणगढस्थित नारायणी नदी किनार चौरमा हुने उद्घाटनसत्रमा देशभरबाट करिब ५ लाख जना सहभागी हुने एमालेको दावी छ । बन्द सत्र हुने सौराहामा तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।

एमालेका २ हजार जना महाधिवेशन प्रतिनिधि चितवनको सौराहामा हुने बन्दसत्रमा सहभागी हुनेछन् । महाधिवेशन प्रतिनिधि बाहेक अरु पनि महाधिवेशनमा सहभागी हुने छन् ।

त्यसका लागि सौराहामा पहिलो पटक सबै होटलका कोठा बुकिङ हुने छन् । झण्डै १ सय ४० होटलका ६ हजार ५ सय बेड मंसिर ९ देखि १२ गतेसम्म भरिनेछन् । एमालेले करिब ४ हजार बेड बुकिङका लागि क्षेत्रीय होटल संघ सौराहा र रेष्टुरेण्ट एण्ड बार एशोसिएशनसँग सम्झौता गरिसकेको छ ।

उद्घाटन र बन्दसत्रका गतिविधि नियाल्न चाहने सर्वसाधरणले समेत सौराहामै अग्रिम बुकिङ गर्न थालेका छन् । मंसिर ९ देखि १२ गतेसम्म महाधिवेशनका लागि एमालेबाट ४ हजार बेड बुकिङ भएका छन् भने १ हजार ५ सय बेड सर्वसाधरणले बुकिङ गराएका छन् । कोरोनाका कारण थलिएको चितवनको पर्यटन क्षेत्रलाई चलायमान बनाउन महाधिवेशनले सहयोग पुग्ने व्यवसायीको विश्वास छ ।

महाधिवेशनका लागि ३० प्रतिशत सहुलियत पनि प्रदान गरिएको क्षेत्रीय होटल संघले जनाएको छ । पर्यटन व्यवसायीले सौराहाका होटलहरुमा सरसफाई, रंगरोगन र सजावटका काम गरिरहेका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसायले विस्तारै लय समाउँदैछ । महाधिवेशनको कार्यक्रम चितवन राखिनुले यहाँको पर्यटन व्यवसायले ऊर्जा पाएको आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोख्रेलले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका सौराहा वन वन्यजन्तुमा आधारित पर्यटकीय गन्तव्य हो । यसमा एमाले महाधिवेशनले थप मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्