राजनीति

एमाले पूर्वमाओवादी नेताहरूले राम्रै भाग पाउने यस्तो छ सम्भावना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २९ गते २१:०७
एमाले पूर्वमाओवादी नेताहरूले राम्रै भाग पाउने यस्तो छ सम्भावना (भिडियो रिपोर्टसहित)

२९ कात्तिक २०७८ काठमाडौं । एमालेको दशौँ महाधिवेशनका लागि सर्वसम्मतीमा महाधिवेशन पदाधिकारी छान्न गरिएको बल प्रयोगले विभिन्न आशंका जन्माएको छ।

खासगरी अध्यक्ष केपी ओलीका ‘एस म्यान’लाई महाधिवेशन प्रतिनिधिमा छानीछानी बन्द कोठाबाट घोषणा गराउनुको पछि ओलीले महाधिवेशनमा गोजीबाट नेता घोषणा गर्ने र हलले ताली पड्काउने नै हो । यस्तो अवस्थामा पूर्वमाओवादी नेताहरु सबभन्दा बढी भाग्यमानी सावित हुने भएका छन् ।

नेकपा एमालेको दशौं महाधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न विषयका आँकलनले स्थान पाउन थालेका छन् । पार्टीभित्रका स्थायी प्रतिद्वन्द्वी र प्रतिष्पर्धी माधवकुमार नेपालहरु पार्टीबाट बाहिरिएपछि पनि अध्यक्ष केपी ओलीको टाउको दुखाइ कम भने भएको छैन ।

ठूलो भागकै लागि ओली गुटमा गोलबन्द भएकादेखि तत्कालको पदका लागि माओवादी केन्द्र त्यागेकासम्मलाई पजनी गर्नुपर्ने सकसमा हुनुहन्छ अध्यक्ष ओली । १० बुँदेको नाममा अदालतदेखि पार्टी पंक्तिसम्मलाई दिग्भ्रमित पार्ने ओली योजना पनि अहिले दश भाइको बार्गेनिङको अस्त्र बनेको छ।

आफूलाई स्वघोषित र निर्विवाद अध्यक्षको सिंहासनमा राखेर सौराहा हात्ती सफारीमा जाने ओलीलाई माओवादी केन्द्रबाट आएका र पार्टी महाधिवेशनमा निर्वाचित हुनै नसक्ने ठूला कदका नेताहरु ‘निल्नु न ओकल्नु’ भएका छन् ।

पार्टीमा छुट्टै सैन्य दस्ता खोलेर घुर्की लगाएका नेता प्रभु शाहलाई दुई जना केन्द्रीय सदस्य दिएर मुख बुजो लगाउँदा ओलीलाई भीम रावलहरुले छिर्के हान्न थालेको अवस्था छ। यस्तो अवस्थामा पार्टीको संशोधित विधानले १५ मात्र पदाधिकारी चयन गर्न पाउने बनाएपछि माओवादी केन्द्र छाडेर ठूलै भाग अपेक्षा गर्नेको व्यवस्थापन पेचिलो बन्ने नै भयो ।

पार्टीमा एउटालाई तर्साउन अर्काको दापको खुकुरी चलाउन सिपालु ओलीको पछिल्ला हतियारले आफ्नै हात रगतपच्छे भएका बेला के अध्यक्ष ओलीले पूर्व माओवादी नेताहरुलाई आगामी दशौँ महाधिवेशनमा बम्पर उपहार दिनुहोला ?

मन्त्री पदकै लागि विगतको विरासतलाई तिलान्जली दिएका नेताहरुको मन्त्री पद अदालतले आर्यघाट पुराइदिएपछि बादलदेखि टोपबहादुर रायमाझीहरुको बास ओलीकै मझेरीमा छ । ओलीलाई पनि प्रचण्डलाई तर्साउने र घुर्काउने राम्रो नमूना बनेका पूर्वमाओवादी नेताहरुलाईृ महाधिवेशनमार्फत् केन्द्रमा ठूलै भाग दिनुपर्ने बाध्यता छ।

चितवनमा महाधिवेशन गर्न बादललाई ओलीले त्यसै संयोजक तोक्नु भएको पनि हैन । पूर्वगृहमन्त्री बादलको चुनावसँग हिमचिम पनि छैन । लडेको एउटा राष्ट्रिय सभाको चुनावमा समेत तीन बल्डयाङ खाएका बादलले जति खोकेपनि चितवनमा चुनाव लड्ने घोषणा स्वयम् उहाँले पनि पत्याउनुभएको छैन । अन्य नेताले पनि चुनाव जित्न चिठ्ठा नै पर्नुपर्छ ।

यो यथार्थ बुझेका उनीहरु एमालेको महाधिवेशनमा चुनाव लड्दा पार्टीको कुनै पनि पदमा जितिँदैन भन्नेमा पनि भलिभाँती जानकार छन् । त्यसैले ओलीकै चाकडीमा सम्मानित पार्टीको पद लिएर दिन बिताउने काल पर्खने मेसोमा छन् धेरै एमालेका पूर्वमाओवादी नेताहरु ।

हेर्नुछ, के ओलीले आफ्नाको चित्त फाट्दा फेरि पनि पूर्वमाओवादी नेतालाई पद पजनी गरेर बालकोट फिर्नुहोला या सौराहामा स्वार्थीको आरोप लागेका पूर्वमाओवादी नेताहरुको राजनीतिक भविष्य राप्तीमा सलल होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्