Main News

प्रधानन्यायाधीशमाथि लागेको आरोपको छानबिन गर्न अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाको माग

हिमालय टिभी
२०७८ कार्तिक २७ गते ७:५९
प्रधानन्यायाधीशमाथि लागेको आरोपको छानबिन गर्न अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाको माग

२७ कात्तिक २०७८ काठमाडौं । तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेका आरोपबारे छानबिन गर्न माग गरेका छन् ।

एमनेस्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमन राइट्स वाचले संयुक्त विज्ञप्ति निकालेर सर्वोच्च अदालतको सङ्कटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताउँदै प्रधानन्यायाधीशमाथि छानबिन गर्न आग्रह गरेका हुन् ।

अदालतको विश्वसनीयता र स्वतन्त्रता जोगाउन यो सङ्कटको तत्काल समाधान गर्नुपर्नेमा उनीहरूको जोड छ ।

ह्युमन राइट वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले नेपालमा मानव अधिकार र विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्त्वपूर्ण भूमिका भएकाले अहिलेको सङ्कट न्याय प्रणालीका लागि एकदमै चिन्ताजनक भएको बताउनुभएको छ ।

आइसीजेकी वरिष्ठ अन्तर्राष्ट्रिय कानूनी सल्लाकार मन्दिरा शर्माले न्यायिक स्वतन्त्रता बिना अदालत निकै कमजोर हुने र कमजोर अदालतले मानवअधिकार र विधिको शासन कायम राख्न नसक्ने बताउनु भएको छ ।

एमनेस्टी इन्टरनेसनलका निर्देशक नीराजन थपलियाले प्रधानन्यायाधीशमाथि लागेका आरोपको सशक्त, पारदर्शी र प्रभावकारी छानविन हुनुपर्ने माग गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *