Main News

न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ : नेता सिंह

हिमालय टिभी
२०७८ कार्तिक २४ गते १३:३८
न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ : नेता सिंह

२४ कात्तिक २०७८ काठमाडौं । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताउनुभएको छ ।

गणेशमान सिंह फाउन्डेसनले कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उहाँले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताउनुभएको हो ।

“सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ”, नेता सिंहले भन्नुभयो । उहाँले कांग्रेसले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन गर्न नहुने उल्लेख गर्नुभयो ।

नेता सिंहले दुई/दुईपटक विघटन भएको संसद् अदालतले पुनस्र्थापना गरिदिएको भन्दै ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको स्पष्ट पार्नुभयो । पाँच दलीय गठबन्धन समन्वय समिति आवश्यक नभएको बताउँदै उहाँले गठबन्धन सरकारको मुख्य काम संविधानलाई सही दिशामा ल्याएर तीनै तहको निर्वाचन समयमा सम्पन्न गर्नु रहेको बताउनुभयो । कांग्रेसले १४औँ महाधिवेशनबाट पार्टीलाई विधिसम्मत नेतृत्व गर्ने सक्षम उम्मेदवार छनोट गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेता सिंहले नेपाली जनतालाई सार्वभौम बनाउनका लागि स्व सिंहले नेपाली राजनीतिमा ६ दशक लामो खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै देशमा प्रजातन्त्र स्थापनाका लागि स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई रक्षा गर्दै सङ्घीयता, लोकतन्त्र र समावेशितालाई संस्थागत गर्दै अगाडि बढाउने मुख्य जिम्मा कांग्रेसको भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *