Main News

न्यायालय विवादमा पूर्वराष्ट्रपतिद्वारा सरकारको आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १४ गते १८:४४
न्यायालय विवादमा पूर्वराष्ट्रपतिद्वारा सरकारको आलोचना (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७८ काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भएको छ ।

पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गर्नु भयो । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आज काठमाडौंमा एक कार्यक्रममा बीच विमोचन गर्दै उहाँले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविदहरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैैन ? भनेर सरकारलाई प्रश्न गर्नुभयो ।

कानूनमन्त्रीले समस्या समाधान गर्न सक्दैनन् भन्दै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँराएको बताउनुभयो । उहाँले सारा न्यायाधीश, नेपाल बार, कानुनविद एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरुमाथि प्रश्नसमेत तेस्र्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छन् । बुद्धिजीविहरु एकातिर छन् । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छन् । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छ कि म छोडदिनँ । केही नभए पनि एक्लै बेञ्चमा बस्छ । कसको तागतमा ?’

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाउनु भएको छ । उहाँले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको हो । पूर्व राष्ट्रपति यादवले संविधान कार्यान्वयन गर्न दलहरु गम्भिर नभएकोमा चिन्ता समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *