Main News

लगातार वर्षा : सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा बढी क्षति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २ गते १९:५२
लगातार वर्षा : सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा बढी क्षति (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७८ काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोबाट देशका अधिकांश स्थानको जनजीवन प्रभावित बनेको छ ।

वर्षाले सबैभन्दा धेरै क्षति सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशमा पुर्याएको छ । कर्णाली, सेती र महाकाली नदीमा भीषण बाढी आएको छ ।

अविरल वर्षापछि कर्णाली नदीमा आएको बाढी बस्तीमा पस्दा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ३ सय घर डुवानमा परेका छन । कर्णाली नदीको बाढी राजापुर नगरपालिकाको वडा नम्बर १ चिउनी भन्ने स्थानबाट बस्तीमा पसेको छ ।

यस्तै पूर्वी भङगालो गेरुवा नदीको बाढी सनकट्टी र राजीपुर भन्ने स्थानमा पस्दा गाउँ डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका बिपद फोकल पर्सन प्रशासकीय अधिकृत ओम देवकोटाले जानकारी दिनुभयो ।

कर्णालीमा पानीको सतह उच्च पुगेको छ, खतरा भन्दा बढी पानीको बहाब पुगेसंगै रानिजमरा कुलरिया सिचाई आयोजनाको इन्टेक फुटाएर पानी नहरमा पसेको छ ।

यस्तै सेती नदीमा आएको बाढीमा बैतडीका ६० जना फसेका छन् । सिगास गाउँपालिका वडा नम्बर ५ को ढुङ्गाडमा सेती नदीको छेउकै बस्तीमा बस्दै आएका १० परिवारका ६० जना फसेका हुन् ।

प्रतिकुल मौसमका कारण गएरातिदेखि फसेका उनीहरुको अझै उद्दार हुन सकेको छैन । बर्षातकै कारण सुदूरपश्चिमका पहाडी ७ जिल्लाको बिद्युत तथा टेलिफोन सेवा अवरुद्ध छ । ठाउँ ठाउँमा पहिरो गएर सडक पनि अबरुद्ध भएका कारण आवतजावतमा समस्या छ ।

बझाङ्गको सदरमुकाम चैनपुरमा पनि सेती नदीको बाढीले कटान गरेको छ । नदी किनारामा रहेको बसपार्क नै बगाएको छ । बाढीकै कारण कैलालीको टीकापुर नगरपालिकाका नदी तटीय क्षेत्रका दर्जनौं बस्तीहरु जोखिममा परेका छन् ।

महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । महाकाली र जोगबुढा नदी गाउँ पस्न थालेपछि तटीय क्षेत्रका सयौं घर डुबानमा परेका हुन् ।

महाकाली नदीमा बन्दै गरेको चार लेनको पुल जोड्ने कालोपत्रे सडक कटान भएको छ भने झोलुगें पुल नजिकै रहेको ह्युमपाइपबाट पानि ओभरफ्लो भएर गाउँ पस्न थालेको छ ।

लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तरगत धनकुटाको साँगुरीगढी –६ घण्टेमा सडक बगाउँदा यातायात अबरुद्ध बनेको छ ।

बाढीले करिब पचास मिटर सडक बगाएको हो । सडक बगाएपछि धनकुटा सहित तेह्रथुम भोजपुर तथा संख्वासभावाट तराइ जाने तथा तराईबाट धनकुटा सहित तेह्रथुम भोजपुर तथा संख्वासभा जाने यातायातका साधन बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *