Main News

जताततै दशैंको रौनक : नवलपरासीको माझीमुसहर समुदायमा छैन उत्साह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २८ गते २१:०३
जताततै दशैंको रौनक : नवलपरासीको माझीमुसहर समुदायमा छैन उत्साह (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ नवलपरासी । नेपालीको महान चाड दशैंको जताततै रमझम र चहलपहल छ । मिठो खाएर, रमाइलोसँग दशैं मनाउने सबैले मेसो मिलाइसकेका छन् । तर नवलपरासीका माझीमुसहर समुदायलाई भने दशैंले पिरोलिरहेको छ ।

‘आयो दशैं ढोल बजाई गयो दशैं ऋण बोकाई’ भन्ने उखान दैनिक ज्याला मजदुरी गरेर जीवन धान्ने पूर्वी नवलपरासीका माझीमुसहर समुदायलाई चरितार्थ भएको छ ।

दशैंका लागि विदेश गएका धेरै नेपाली स्वदेश फर्किसकेका छन् । बजारमा किनमेल गर्नेहरुको चहलपहल र भिडभाड बढ्दो छ । कतिपयले मासुका लागि खसीबोका र मिठा–मिठा परिकारको बन्दोबस्त गरिसकेका छन् । परिवार र आफन्तको जमघटले घर–घरमा रौनक बढ्दै जाँदा शेरगञ्जमा रहेको ८४ घरधुरीसहितको माझीमुसहर बस्तीमा भने दशैंको कुनै हर्षोल्लास छैन ।

दैनिक ज्याला मजदुरीको कमाइले साँझ–बिहान २ छाक खानसमेत धौधौ हुने माझीमुसहर परिवारका लागि दशैंमा मिठो–मसिनो खान, राम्रो लगाउन र रमाइलो गर्न नपाउने चिन्ताले पिरोलिरहेको छ ।

दैनिक ज्यालादारीमा साहुको घरमा काम गर्ने, खोला तथा नदीमा माछा मारेर जसोतसो जिविकोपार्जन गर्ने माझीमुसहर समुदायका स्थानीयलाई यस वर्षको अविरल वर्षापछि खोला नालामा आएको बाढीले धानसमेत बगाइदिँदा साँझ बिहानकै छाक टार्ने समस्याले दशैं दशाजस्तै खल्लो भएको छ ।

संघीयतापछि देशमा तीन तहका सरकार बने । अति विपन्न वर्गका समुदायले भने ति कुनैपनि सरकारको अनुभूति गर्न पाएका छैनन् । शेरगञ्जका माझीमुसहर परिवार जस्तै देशमा लाखौं अति विपन्न वर्गका लागि आर्थिक अभावका कारण दशैं जस्तो महान चाडमा समेत मनमा खुसी र चयन छैन । त्यसैले अति विपन्न वर्ग र समुदायका लागि तीन वटैतहका सरकारले छुट्टै राहत तथा भत्ताका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *