Main News

उद्योगमन्त्री हमालद्वारा राजीनामा, पार्टी र सरकारलाई बदनाम गराउन खोजेको आरोप

हिमालय टिभी
२०७८ असोज २४ गते १३:०५
उद्योगमन्त्री हमालद्वारा राजीनामा, पार्टी र सरकारलाई बदनाम गराउन खोजेको आरोप

२४ असोज २०७८ काठमाडौं । विवादमा मुछिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिनु भएको छ । हमालले बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनु भएको हो ।

प्रधानमन्त्री देउवाले उहाँको राजीनामा स्वीकृत गरिसक्नु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट कांग्रेसको नाममा मन्त्री बनेको भन्दै चोतर्फी आलोचना भएपछि हमाल राजीनामा दिन बाध्य हुनु भएको हो ।

प्रधानन्यायाधीशसँग जोडेर आफ्नो, पार्टी र सरकारलाई बदनाम हुने गरी आलोचना भएको भन्दै स्वविवेक प्रयोग गरी राजीनामा दिएको हमालले बताउनुभयो ।

देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुनुहुन्छ । २०७७ पुस ५ गते पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागबण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको आरोप लागेको थियो ।

सर्वोच्चको आदेशअनुसार असार २९ मा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेको चर्चा चलेको थियो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संसद् नै नरहेका हमाललाई मन्त्री नियुक्त गरेको भन्दै कांग्रेसभित्रै असन्तुष्ट बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *