Main News

यातायात व्यवसायीकाे आन्दाेलनले यात्रु मारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १८ गते २०:२२
यातायात व्यवसायीकाे आन्दाेलनले यात्रु मारमा (भिडियो रिपोर्टसहित)

१८ असोज २०७८ काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरुले आज बिहान काठमाडौं उपत्यकामा चल्ने छोटो दूरीका सार्वजनिक यातायात चलाएनन् । बढेको भाडा दर लागू गर्न नपाएको झोँकमा उनीहरुले गरेको आन्दोलनले यात्रु मारमा परेका छन् ।

सरकारले बढाएको भाडा दर लागू गर्नुपर्ने तथा ट्राफिक प्रहरीले यातायात मजदुरमाथि गर्ने अभद्र व्यवहार अन्त्य गर्नुपर्ने माग गर्दै छोटो दूरीका यातायात व्यवसायी तथा मजदुरहरुले काठमाडौंमा आन्दोलन गरेका हुन् ।

चक्रपथ, चावहिल चुच्चेपाटीलगायतका क्षेत्रमा बिहानैदेखि यातायातका साधन रोकेर उनीहरुले आन्दोलन गर्दा यात्रु मर्कामा परेका छन् ।

पेट्रोलको मूल्य बढिरहे पनि सरकारले बढाएको भाडादर लागू गर्न नदिइएको यातायात व्यवसायीहरुको गुनासो छ ।

तोकिएकै भाडा लिँदा पनि ट्राफिकले पाँच हजारसम्म चिट काट्ने र अभद्र व्यवहार गर्ने गरेको व्यवसायीहरुको गुनासो छ ।

ट्राफिक प्रहरीले भने चाडपर्वको समयलाई मध्यनजर गरेर यातायातका साधनमा चेकजाँचमा कडाइ गरिरहेको दाबी गर्छ । तोकिएको भन्दा बढी भाडा लिएकोलाई मात्र कारबाही गरिएको भन्दै ट्राफिक प्रहरीले कुनै गुनासो भए उजुरी गर्न सुझाव दिन्छ ।

आइतबार ट्राफिक प्रहरी महाशाखाले विभिन्न कारणले ५४ वटा बसलाई जरिवाना गरेको थियो । जब चार्डपर्व सुरु हुन्छ तब सवारी साधानमा मनोमानी बढी हुने परम्परा छ ।

प्रहरी प्रशासन पनि यसमा अछुतो छैन । आफूले गल्ती नगर्दा पनि कतिपय ठाउँमा जरिवाना तिर्नु परिरहेको यातायात व्यवसायीको गुनासो छ । तर सार्वजनिक यातायातका धनीहरुले जतिबेला र जहाँपायो त्यही आन्दोलनका नाममा बस चलाउन छोड्दा यात्रु मारमा परेका छन् । यात्रुप्रति उत्तरदायी हुनु उनीहरुको कर्तव्य हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *