धन कमाउने आशामा विदेश गएका बाकसमा फर्केपछि…. (भिडियो रिपोर्टसहित)

२ असोज २०७८ काठमाडौं । वर्षेनी लाखौँ नेपाली रोजगारीको लागि बिदेश गइरहेका छन । उनीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ । तर रोजगारीमा गएकाले अकालमै विदेशमा ज्यान पनि गुमाइरहेका छन् ।
यो दृश्य हो रोजगारीको शिलशिलामा मलेसियामा ज्यान गुमाएर नेपाल ल्याइएका नेपालीको शव। केहीको त उतै अन्त्येष्टी भइसकेको छ । एउटा भाँडोमा अस्तु मात्र आइपुगेको छ ।
चाडपर्वको बेला विादेशबाट घर परिवार र केटाकेटीका लागि खुसीको पोको बोकेर आउनु पर्ने आफन्त यसरी बाकस र भाँडोमा आइरहेका छन् । यो असैह्य पीडा परिवारबाहेक कसलाई थाहा होला र ?
विदेशमा पसिना बगाएर दुई चार पैसा कमाउँला र तिमीहरुलाई सुख दिउँला भन्ने सपना देखाएर विदेशिएका प्रियजन यसरी काठको बाकसमा फर्किँदा कसले पो मन थाम्न सक्छ र ।
शनिबार बिहान मलेशियाबाट ४ वटा शव र ९ जनाको अस्तु नेपाल आउँदा विमानस्थलमा यस्तै दृश्य देखियो ।
र यो दृश्य बारम्बार विमानस्थलमा दोहोरिने गरेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीको लागि बिदेश गएका १ हजार २ सय ४२ जनाले ज्यान गुमाएका छन । जसमध्ये १ हजार २ सय १३ पुरुष र २९ जना महिला छन ।
बिदेशमा सबैभन्दा बढि नेपालीको मृत्यु हुने देशमा साउदी अरबिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स छन् । गत वर्षमा १ हजार २ सय ४२ मृत्यु भएको मध्ये गम्भिर प्रकारको रोग लागेर सबैभन्दा बढी ४ सय २७ जनाको मृत्यु भएको छ । यस्तै १ सय ७१ जनाको प्राकृतिक मृत्यु भएको छ भने १ सय ४० जनाले आत्महत्या गरेका छन् ।
हृदयघातबाट १ सय ४, सडक दुर्घटनाबाट १ सय १९ जनाको मृत्यु भएको छ । यस्तै काम गर्ने स्थानमा दुर्घटना हुँदा २६ जनाले ज्यान गुमाएका छन् र दुई जनाको हत्या भएको छ । यस्तै विविध कारणले २ सय ५३ जनाको ज्यान गएको तथ्याङ बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ ।
प्रतिक्रिया