Main News

नेपालमा चोरिएका मूर्ति कहाँकहाँ लगियो ? यसरी फर्काइँदै नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १ गते १८:१८
नेपालमा चोरिएका मूर्ति कहाँकहाँ लगियो ? यसरी फर्काइँदै नेपाल (भिडियो रिपोर्टसहित)

१ असोज २०७८ काठमाडौं । नेपालमा कलात्मक मूर्ति र टुँडाल नभएका मठमन्दिर सायदै होलान् । हरेकजसो मन्दिरमा हुने विभिन्न देवी–देवताका आकृति अंकित मूर्ति अघि श्रद्धा र आस्थाले हाम्रो शिर निहुरिन्छ ।

देवी–देवताका मूर्तिसामू हामीले कुनै गलत सोच मनमा राख्न पनि सक्दैनौं । तर सबैको सोच त्यस्तै नहुने रहेछ, कतिले त हाम्रो आस्थाका प्रतीक मूर्ति विदेशीलाई नै बेचिदिएका रहेछन् । यसरी विभिन्न कालखण्डमा चोरी गरेर विदेश पुर्‍याइएका मूर्तिलाई पछिल्लो समय स्वदेश फर्काउने लहर नै चलेको छ ।

२००७ सालमा प्रजातन्त्र आएपछि देशमा विदेशीको आवागमन बढ्न थाल्यो । विदेशीको आवागमनले नेपालमा पर्यटकीय गतिविधि पनि फस्टाउन थाल्यो । पर्यटकीय गतिविधिकै कारण एकातिर नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा फैलिन थाल्यो, संघीय राजधानी काठमाडौंले मन्दिरै मन्दिरको शहरको उपमा पनि पायो ।

तर सबै कुरा राम्रो मात्रै भएन । मन्दिरै मन्दिरको उपमा पाएको काठमाडौं उपत्यकाका पाइला–पाइलामा भेटिने मन्दिरमा गलत नजर लाग्न थाल्यो । देवीदेवताका कलात्मक मूर्ति, टुँडाल लगायतका बहुमूल्य सामग्री चोर्ने गिरोह सक्रिय भयो ।

बहुमूल्य र पूरातात्विक महत्वका यस्ता मूर्ति र बहुमूल्य सामग्री चोरेर अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, चीन लगायतका देशमा लगियो । कतिले जानीबुझी चोरी गरे त कसैले मूर्तिमा कुँदिएका कलाकृति राम्रो लागेर पनि लगे । सन् १९ ८० को दशकमा धेरैजसो मूर्ति हराएको र चोरी भएको देखिन्छ ।

अहिले भने समय फेरिएको छ । पुरातात्विक महत्वका मूर्ति, टुँडाल र बहुमूल्य साम्रगीको महत्व विस्तारै सबैले थाहा पाउन थालेका छन् । त्यसैले विदेशमा बेचिएका र राखिएका मूर्तिहरु नेपाल फर्काउने क्रम् बढेको छ । यसरी फर्काइएका मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राख्ने गरिएको छ ।

हालसम्म ६३ वटा मूर्ति स्वदेश फर्काइएको छ । केही ल्याउने प्रक्रियामा छ ।

फर्काएका मूर्ति ७ – ८ सय वर्षसम्म पुराना छन् । एउटा मात्रै मूर्ति हराएमा सिंगो एउटा कालखण्डकै बिषयको जानकारी लोप हुन सक्छ र भावी पुस्ता त्यस्तो जानकारी लिनबाट बञ्चिन हुनुपर्ने अवस्था बन्न सक्छ ।

त्यसैले आफ्नो टोलछिमेमा रहेका महत्वपूर्ण सम्पदा र सम्पत्तिको संरक्षण गर्नु राज्यको मात्रै नभएर हरेक जिम्मेवार नागरिकको कर्तव्य हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *