राजनीति

नयाँ बजेट ल्याउँदा संसदमा एमाले सांसदको ताण्डव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २५ गते २१:००
नयाँ बजेट ल्याउँदा संसदमा एमाले सांसदको ताण्डव (भिडियो रिपोर्टसहित)

२५ भदौ २०७८ काठमाडौं । प्रतिनिधिसभा बैठकमा शक्तिशाली प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बावजुद सरकारले संशोधन बजेट पेश गरेको छ । सरकारले प्रतिस्थापन विधेयक पेश गर्दै गर्दा संसदमा केही रोचक दृष्यहरु देखिए ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुरु हुनासाथ नेकपा एमालेका सांसदहरुले संसदीय सर्वोच्चताको माग गर्दै नाराजुलुस सुरु गरे ।

नाराजुलुस चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्न दिन पटकपटक आग्रह गर्नुभयो । तर एमालेले उहाँको आग्रहलाई टेरेन र सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेर दोस्रो बैठक शुरु गर्नु भएका सभामुखले अवरोधकै बीच बैठक अघि बढाउँदै अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी विभिन्न अध्यादेशहरु पेश गर्न समय दिनुभयो ।

प्रमुख प्रतिपक्षीको नाराबाजी र अवरोध चलिरहेका बेला अर्थमन्त्री शर्मा दौडिँदै रोष्ट्रम पुगेको दृष्य रोचक देखियो।

अध्यादेश अस्वीकारका लागि सूचना प्रस्तुत गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँगको सभामुखको वादविवाद झनै रोचक देखियो ।

अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गरेका सुवालले बोलिरहँदा अर्थमन्त्रीले मर्यादा पालकहरुबाट घेरिएर सुवालका प्रश्न टिपिरहनुभएको थियो ।

विपक्षीलालई पेलेरै दोस्रो बैठक चलाएका सभामुख सापकोटाले तेस्रो बैठकमा अर्थमन्त्री शर्मालाई बजेटको प्रतिस्थापन विधेयक पेश गर्न समय दिनुभयो ।

तेस्रो बैठकमा पनि सुरुदेखि नै नाराबाजीमा उत्रिएको प्रतिपक्षीको विरोधका बावजुद अर्थमन्त्री शर्माले संशोधन बजेट पेश गर्नुभयो । संशोधन बजेट पेश गरिरहँदा प्रतिपक्षीको नाराजुलुमा जे देखियो त्यसले धेरैको आँखा तान्न सफल बन्यो ।

अर्थमन्त्रीले संशोधित बजेट पढिरहनु भयो । एमाले सांसदले नाराबाजी गरिरहे । बिच बिचमा नाराबाजी गरिरहेका एमाले सांसदहरु एकजनालाई उचालेर रोष्टमसम्म उकाल्न प्रयास गर्थे । तर मर्यादा पालकले ती सबै प्रयास असफल पारे ।

बैठकको अन्तिममा सभामुखले शोक प्रस्ताव पेश गर्दा भने एमाले सांसदको नाराबाजी रोकिएको थियो । उनीहरुले नाराबाजी गरेकै ठाउँबाट मौनधारण गरे ।

नेपालको संसदमा प्रतिपक्षीको नाराबाजी र सत्तापक्षको पेलेर जाने प्रवृत्ति नयाँ होइन । यसअघिका थुप्रै बैठकहरु यसरी गुज्रिएका छन् । कुर्सी टेबुल तोड्ने र बजेटको ब्रिफकेस फोड्ने दृष्यहरु यसअघि नै देख्न पाइएको छ ।

तर अहिले संसद भवनका कुर्सी टेबल जो कोहीले सहजै तोडफोड गर्न नसक्ने गरी बनाइएको छ । यसैले हुनसक्छ, यसपटकको नाराजुलुसमा संसदमा त्यति ठूलो भौतिक क्षति देखिएको छैन । सत्तापक्ष या प्रतिपक्ष दुवै तर्फका जनप्रतिनिधिमा संसदीय मर्यादाको अभाव भने खड्किएकै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्