राजनीति

एमालेद्वारा संसद अवरोध, नेताहरुबीच संसदमै मुठभेड हुने संकेत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २३ गते २०:२५
एमालेद्वारा संसद अवरोध, नेताहरुबीच संसदमै मुठभेड हुने संकेत (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ काठमाडौं । साउन ३२ गते एकाएक संसद अधिवेशन अन्त्य गरेको सरकारले एक महिना पनि नबित्दै फेरी संसद अधिवेशन आव्हान गर्यो ।

अध्यादेशमार्फत एमाले फुटाउन सफल भएको सरकारका लागि सत्तापक्षबाट प्रमुख प्रतिपक्षमा पुगेको एमालेले संसदमा राम्रै झट्का दिने संकेत गरेको छ । अनि पहिले एमालेमै रहेका तर अहिले दुई भागमा विभाजित नेताहरुबीच संसदमै मुठभेड हुने संकेत देखिएको छ ।

रातारात अधिवेशन अन्त्य गरेर दलसम्बन्धी अध्यादेश ल्याएको सरकारका लागि संसद अपरिहार्य छ । सबैभन्दा महत्वपूर्ण त बजेट पास वा प्रतिस्थापन विधयेक ल्याए संसदबाट स्वीकृत गर्नु पर्नेछ । अन्यथा सरकारलाई खर्च गर्ने रकम समेत अभाव हुनेछ ।

हुन त सरकारले ल्याएको अध्यादेशले नयाँ दलहरुका लागि औपचारिक मान्यता पाउन मात्र सहयोग गरेको हो । किनकी नेकपा एमाले र जनता समाजवादी पार्टीमा फुटले औपचारिक मान्यता पाउनुअघि नै फरक पार्टीको अभ्यास भइरहेको थियो । तर सरकारकै कारण आफ्नो पार्टी फुटेको भन्दै एमालेले संसदको पहिलो बैठकमै त्यसको रोश प्रकट गरेको छ ।

एमालेले आक्रमणको पहिलो निशाना प्रतिनिधि सभामा सभामुख माथि नै साधेको छ । संभवतः सभामुखलाई नै एजेण्डा बनाएर संसद अवरुद्ध विरलै हुने गर्छ । पार्टीले कार्वाही गरेका आफ्ना १४ जना सासदको सूचना टाँस नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटामाथि एमालेको आक्रोश छ ।

१४ जनालाई कारवाही गरेको भए नयाँ दल वनाउन आवश्यक संख्या नपुग्ने, माधवकुमार नेपाल र झलनाथ खनाललाई अप्ठ्यारो नपर्ने र पार्टी नफुट्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आंकलन थियो । तर सोचेजस्तो हुन नदिन गठबन्धनमा रहेका दलहरु र सभामुखको भूमिका महत्वपूर्ण देखियो । त्यसैले एमालेले बदला लिने ठाउँ संसदलाई बनाएको छ ।

एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल समूहमाथि पनि पार्टी फुटाएको झोक फेर्ने तयारी गर्नु भएको छ । अर्थात् निर्वाचन आयोगबाट नयाँ पार्टीको मान्यता पाइसकेका नेकपा एकीकृत समाजवादीका सांसदलाई सांसदको रुपमा नस्वीकार्ने उहाँको अडान छ ।

तर एमालेमा हुँदासम्म सँधै अपमान सहिरहेको बताउने नेपाल समूह अर्थात् एकीकृत समाजवादी पार्टीले पनि ओलीलाई संसदमा राम्रै काउण्टर दिने संकेत गरेको छ ।

२० प्रतिशत सासंसदको आडमा नयाँ पार्टी बनेपनि एकीकृत समाजवादी पार्टी संसदको चौथो ठूलो र सत्तारुढ दलसमेत हो । त्यसैले सशक्त प्रमुख प्रतिपक्षी एमालेलाई तह लगाउन सत्तारुढ दल पनि कम्मर कसेर लाग्ने देखिन्छ । जसले गर्दा संसदको गतिविधि अबका केही दिन निकै रोचक हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्