ओखरपौवाका बासिन्दाको गुनासो–काठमाडौंको फोहोरले धेरै समस्या भो (भिडियो रिपोर्टसहित)
१४ भदौ २०७८ काठमाडौं । झण्डै एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन् । जसले गर्दा उपत्यकामा दुर्गन्ध बढेको छ र नागरिकलाई समस्या भएको छ । तर समस्या काठमाडौंमा मात्र छैन । काठमाडौंको फोहोर फालिँदै आएको सिसडोल ओखरपौवाका बासिन्दा झन ठूलो समस्यामा छन् ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाबाट निस्किने फोहोर काठमाडौं धादिङ र नुवाकोटको सिमानामा रहेको सिसडोलमा विसर्जन गरिँदै आएको छ । तर अहिले वर्षाले सिसडोलमा फोहोर लैजाने बाटो बिग्रिएको छ ।
जसका कारण काठमाडौं उपत्यकाको फोहोर उठाउन सकिएको छैन । महानगरमा फोहोरको दुर्गन्ध बढेको छ । र नागरिकलाई समस्या भएको छ । तर काठमाडौंका मेयर विद्या सुन्दर शाक्यलाई भने काठमाडौंको फोहोर उठाउन नसकेकोमा कुनै चिन्ता छैन । उहाँ फोहोरको समस्या पहिलेदेखि नै हुने गरेको तर गाली भने अहिले आफूले खाने गरेको भन्दै पन्छिने गर्नुभएको छ ।
यो समस्या काठमाडौंको मात्र छैन । फोहोर फालिँदै आएको सिसडोलको ल्यान्डफिल साइट आसपासका बासिन्दा झन ठूलो समस्यामा छन् ।
फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनु पर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको उनीहरुको गुनासो छ । फोहोरकै कारण आफूहरुले ठूलो महामारी भोग्नु पर्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ ।
२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्षदेखि फालिँदै आएको छ । यो ल्यान्डफिल्ड साइट भरिइसकेको छ ।
यहाँ फोहोरको थुप्रोले पहाड नै बनेको छ । त्यसैले स्थानीबासिन्दाले आफूहरुको ठाउँ व्यवस्थित गरेर अबदेखि फोहोर नयाँ बनाइएको बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा लगेर फाल्न सुझाव दिएका छन् ।
सिसडोलमा अब फोहोर फाल्न नसकिने भएकाले सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्नुपर्छ ।
७५ सालमै तयार हुन्छ भनिएको बञ्चरे डाँडा ल्यान्डफिल्ड साइट अझै तयार नभएका कारण नै अहिले काठमाडौंमा फोहोर थुप्रिएको हो । त्यसैले बञ्चरे डाँडाको ल्यान्डफिल्ड छिटो भन्दा छिटो सञ्चालन गर्नुको बिकल्प छैन ।
प्रतिक्रिया