राजनीति

सरकार र लोसपाबीच दूरी बढ्दै, महन्थ ठाकुरलाई बेवास्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १३ गते १७:०३
सरकार र लोसपाबीच दूरी बढ्दै, महन्थ ठाकुरलाई बेवास्ता (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७८ काठमाडौं । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै सरकार सहज अवस्थामा छ । सत्ता गठबन्धनमा आवद्ध चार दलको स्पष्ट बहुमत पुगेको छ ।

यसले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको भाउ घटेको छ । प्रतिनिधिसभामा १३ र राष्ट्रिय सभामा एक सिट रहेको यो पार्टीलाई प्रधानमन्त्री देउवाले सरकारमा सामेल हुन आग्रह समेत गर्नुभएको छैन

नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल बनाउन सहज वातावरण बनाएका प्रधानमन्त्री शेरबहादुर देउवा अब मन्त्रिपरिषद विस्तारको तयारीमा हुनुहुन्छ । र त्यसका लागि प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल चलिरहेको छ ।

सत्ता साझेदारीका लागि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई भने बाहिर राखिएको छ । जबकी ठाकुरको समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको थियो । जसपाबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी अहिले सरकारमा जान लालायित छ । अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताबारे प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्न चाहे तयार रहेको बताउनु भएको छ ।

सरकारमा सहभागी हुनका लागि आफ्ना केही माग सम्बोधन हुनुपर्ने लोसपाका नेताले बताउँदै आएका छन् । टीकापुर घटनामा अदालतद्वारा दोषी ठहर भएका रेशमलाल चौधरीको मुद्दा खारेज हुनु पर्ने र नागरिकता सम्बन्धी विषयमा केपी ओली नेतृत्वको सरकारले गरेको कामलाई निरन्तरता दिनुपर्ने उसको माग छ । सरकारले यी माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए लोसपा सरकारमा सहभागी हुने छ ।

तर सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस कानूनी रुपमा पूरा गर्न नसकिने रेशम चौधरीको मुद्दा फिर्ता लिने प्रतिबद्धता जनाएर लोसपालाई सरकारमा ल्याउने पक्षमा छैन । नागरिकतासम्बन्धी विधेयक पनि तत्काल अघि बढ्ने स्थिति छैन । त्यसैले कांग्रेसले लोसपासँग दुरी बढाएको छ ।

सरकारमा सहभागी नगराए पनि कांग्रेस लोसपालाई चिड्याउने पक्षमा भने छैन । त्यसैले उसले अरु विषयमा सहकार्य गर्न सकिने बताएको छ । तर यसले सरकारमा जान लालायित लोसपाका नेतालाई भने निरास बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्