पार्टी एकतामै नेपाल-खनाल समूहको जोड (भिडियो रिपोर्टसहित)
२२ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले पार्टी एकतामै जोड दिएको छ । एमालेमा आन्तरिक एकताका लागि महत्वपूर्ण मानिएको यो समूहको बैठकले कार्यदलको १० बुँदे प्रस्तावमा टेकेर एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
लामो समयदेखि नेकपा एमाले न त विभाजन भएको नत एक ठाउँमा उभिन सकेको छ । निर्णायक भनिएको नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामै जोड दिएपछि एमालेमा फेरि वार्ता र संवादको सृंखला शुरु हुने देखिएको छ ।
दुई दिनसम्म काठमाडौंमा बसेको नेपाल–खनाल समूहको बैठकमा केन्द्रीय सदस्यले धेरै थरी सुझाव दिए । तर अन्तिममा बैठकले कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावमा टेकेर एकता प्रयास गर्ने निर्णय गरेको छ । बैठकले आरोप प्रत्यारोप बन्द गरेर एकता वार्तामा जुटने निष्कर्ष पनि निकालेको छ ।
बैठकले संसद पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्नुका साथै एकतालाई असर पुराउने गरी भैरहेका आरोप प्रत्यारोप बन्द गर्न आग्रह गरेको छ । नेपाल–खनाल समूहले पार्टी सदस्यता नवीकरण लगायतका संस्थापन पक्षबाट भएका गतिविधि तत्काल रोक्न पनि आग्रह गरेको छ ।
बैठक समापनमा सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पनि एकतामै जोड दिनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओली र संस्थापन पक्षबाट जतिसुकै गाली गलौज गरेपनि आफू पार्टी एकताकै पक्षमा रहेको भन्दै उहाँले केन्द्रीय सदस्यलाई आश्वस्त पार्न प्रयास गर्नुभएको थियो ।
बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी अध्यक्ष ओलीकै कारण पार्टी एकता प्रक्रियामा अवरोध सिर्जना भैरहेको र अविश्वासको वातावरण निर्माण भएको बताएका थिए । कतिपयले अध्यक्ष ओलीले विगतमा गरेका गल्तीप्रतिको आत्मालोचना गर्नुपर्ने, सम्मानजनक रुपमा एकता गर्नुपर्ने जस्ता सुझाव दिएका थिए ।
एमालेमै बसेर संघर्ष गर्ने कि नयाँ पार्टी बनाउने भन्नेमा नेपाल खनाल समूहभित्रै विवाद छ । तर केन्द्रीय कमिटी बैठकमा भने एकता पक्षधर हावी भएका छन् । यसमा वरिष्ठ नेता नेपालको भूमिका पनि महत्वपुर्ण देखिएको छ । नेपाल खनालको यो निर्णयलाई संस्थापन पक्षले कसरी लिन्छ एमालेको आन्तरिक एकता त्यसैमा निर्भर हुनेछ ।
प्रतिक्रिया