Main News

सांसद खत्री कसरी अपहरणमा परिन् र कसरी उम्किन सफल भइन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २२ गते ७:४४
सांसद खत्री कसरी अपहरणमा परिन् र कसरी उम्किन सफल भइन् ? (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्रीले आफू ५ दिनसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको बताउनुभएको छ । कसरी उहाँ अपहरणमा पर्नुभयो र कसरी उम्किन सफल हुनु भयो ?

साउन १५ गते शुक्रबार बिहान ११ बजे । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री उपचारका लागि नेपालगंज हिड्ने तयारीमा हुनुहुन्थ्यो । त्यही समयमा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत उहाँको घर तुल्सीपुरमा पुग्नुभयो ।

विमलाका अनुसार दुई नेताले एमालेमा फर्कन दबाब दिनुभयो । तर उहाँले इन्कार गरिरहनुभयो । त्यसपछि विमलाले ‘म बिरामी छु उपचारका लागि नेपालगन्ज जाँदैछु’ भन्नुभयो । ढकालले हामी पनि नेपालगन्ज जाने हो, संगै जाऔँ भन्दै पुर्याइदिने बताउनुभयो । जिम्मेवार नेताले भनेपछि विमलाले विश्वास नगर्ने कुरा भएन । उहाँ गाडीमा बस्नुभयो ।

अमिलियामा खाना खाएपछि नेपालगन्जतिर जानुपर्ने गाडी एक्कासी बुटवलतिर मोडियो । त्यसपछि विमलाले तत्कालै प्रतिवाद गर्नुभयो । गाडी निरन्तर हुँइकिरहयो र एकैचोटी विमलालाई मुख्यमन्त्रीको निवास बुटवलमा पुर्याइयो ।

विमलाका शब्दमा त्यसपछि उहाँलाई पाँचदिनसम्म मुख्यमन्त्री कार्यालयमै बन्धक बनाइयो । त्यही बीचमा एमालेमा फर्किएको विज्ञप्तिमा जबरजस्ती हस्ताक्षर पनि गराइयो र सार्वजनिक गरियो ।

साउन २० गते दिउँसो पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपी चर्पीको चप्पल लगाएर भाग्न सफल भएको उहाँको भनाइ छ ।

विमलाकुमारी खत्री २०७६ साल मंसिर १४ गते भएको उपचुनावमा दाङ निर्वाचन क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपाको उम्मेद्वार बनेर निर्वाचित हुनु भएको थियो । सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपाबाट जितेकाले एउटा दल रोज्न पाउने भए । विमलाले माओवादी रोज्नुभयो ।

बन्धक बनाइएका बेला उहाँ एमालेमा फर्किएको भनेर विज्ञप्ति सार्वजनिक भयो । अहिले उहाँले माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । विमलाले मुख्यमन्त्री कार्यालयमै बन्धक बनाइएको बताएकाले मुख्यमन्त्री शंकर पोखरेल पनि स्वत मुछिनुभएको छ ।

घटनामा संलग्न एमाले सचेतक ढकालले विमला राजीखुसीले आएको दाबी गर्नुभएको छ । तर स्वयं विमलाले नै आफुलाई बन्धक बनाइएको भनेकाले यो गम्भीर छानबिनको विषय बनेको छ ।

मुख्यमन्त्री पोखरेल अहिले अल्पमतमा हुनुहुन्छ । एकजना सांसद तान्न सके विपक्षको सरकार बन्न नसक्ने र चुनावमा जान सकिने मुख्यमन्त्री पोखरेलको योजना छ । त्यसका लागि आफ्नै जिल्ला दाङकी विमलालाई मनाउन उहाँले पहिले देखि नै प्रयास गरिरहनुभएको थियो । तर अहिले उहाँमाथि सांसद अपहरण नै गरेको गम्भीर आरोप लागेको छ ।

अल्पमतमा परेपछि पनि विश्वासको मत पनि नलिने र राजिनामा पनि नदिने भनेर चर्को आलोचना खेपिरहेका मुख्यमन्त्री पोखरेलमाथि अब फौजदारी कानुन आकर्षित हुने गम्भीर आरोप लागेको छ । यो घटनाको निष्पक्ष छानविन हुनु आवस्यक देखिएको छ । यदि यो घटनामा मुख्यमन्त्री दोषी हुनुहुन्न भने पनि छानविनबाट त्यो प्रमाणित हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *