Main News

सांसदको ‘अपहरण’ मुख्यमन्त्री पोखरेलमाथि उठ्यो प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २२ गते ७:३४
सांसदको ‘अपहरण’ मुख्यमन्त्री पोखरेलमाथि उठ्यो प्रश्न (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य बिमलाकुमारी खत्रीले मुख्यमन्त्री शंकर पोखरेलको निवास बुटवलमा आफुलाई बन्धक बनाइएको आरोप लगाउनुभएको छ ।

बुटवलमा पत्रकार सम्मेलन गरी विमलाले ५ दिनसम्म आफुलाई बन्धक बनाइएको भन्दै भागेर माओबादी केन्द्रको सम्पर्कमा पुगेको बताउनुभएको छ । यसअघि माओवादी केन्द्रले पनि सांसद खत्री अपहरणमा परेको बताउँदै आएको थियो ।

यो घटनाले मुख्यमन्त्री पोखरेलमाथी नै ठुलो प्रश्न खडा भएको छ । यद्यपी एमालेले भने सांसद खत्री राजीखुसीले मुख्यमन्त्रीको निवासमा बसेको दाबी गरेको छ ।

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी हुँदै गर्दा साउन १५ गते शुक्रबारबाट सांसद बिमला कुमारी खत्री सम्पर्कविहीन हुनुभएको थियो ।

परिवारलाई हवला दिदैं खत्री उपचारको लागि नेपालगञ्जमा रहेको र केही दिनमा पार्टीको सम्पर्कमा आउने समाचार पनि बाहिर आयो । त्यसको केही दिनमा खत्री नेकपा एमालेमा रहेको भन्दै प्रेस बिज्ञप्ती आयो । त्यसपछि माओवादी केन्द्का नेताले सांसदको अपहरण गरेर जबरजस्ती विज्ञप्ती निकाल्न लगाएको आरोप लगाए ।

बुधबार माओवादी केन्द्रको सम्पर्कमा आएकी सांसद खत्रीले बिहीबार पत्रकार सम्मेलन गरेर आफुलाई बन्धक बनाइएको गम्भीर आरोप लगाउनुभएको छ । सांसद खत्रीले आफुलाई नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कार्यालय बुटवलमा ल्याएको बताउनुभयो ।

बुटवलमा ल्याएर आफुलाई नेकपा एमालेमा प्रवेश गर्न दबाब दिएको पनि उहाँले बताउनुभयो । एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराइ साउन १९ गते विज्ञप्ति जारी गराएको पनि खत्रीले दाबी गर्नुभएको छ ।

सांसद खत्रीको विज्ञप्ती वाचन गर्दै माओवादी केन्द्रका लुम्बिनी सचेतक तुलाराम घर्तीले उहाँ पहिले र अहिले पनि माओवादीमै रहेको बताउनुभयो ।

दाङबाट नेपालगञ्ज लैजाने भन्दै बुटवल ल्याएपछि पाँच दिनसम्म मुख्यमन्त्री कार्यालयमै बन्धक बनाइएको विमलाले बताउनुभयो । साउन २० गते बुधबार सबै जना आराम गरिरहेको मौका छोपेर शौचालय जाने चप्पल लगाएर भागेको उहाँले बताउनुभयो ।

सांसद खत्रीले एमाले प्रवेश गर्न दबाब आएपनि आफु माओबादी केन्द्र मै रहेको बताउनुभयो । यस घटनाले आफुलाई झन परिपक्क बनाएको उहाँको भनाइ छ । अपहरणको आरोप लागेका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने विमला राजि खुसीले नै बुटवल आएको दाबी गर्नुभएको छ ।

यो घटनाबारे मुख्यमन्त्री कार्यालयले प्रतिक्रिया दिएको छैन । मुख्यमन्त्री शंकर पोखरेलमाथी अहिले ठुलो नैतिक संकट खडा भएको छ । लुम्बिनी प्रदेशका विपक्षी दलले घटनाको तत्काल छानविन गर्न माग गरेका छन् । सामाजिक संजालमा पनि मुख्यमन्त्री पोखरेलको चर्को आलोचना भइरहेको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *