Main News

नेपालसहितको सत्तारुढ गठबन्धनको बैठक, छुट्टै कुर्सीमा किन बसेनन् प्रधानमन्त्री देउवा ?

हिमालय टिभी
२०७८ साउन १० गते ७:३०
नेपालसहितको सत्तारुढ गठबन्धनको बैठक, छुट्टै कुर्सीमा किन बसेनन् प्रधानमन्त्री देउवा ?

१० साउन २०७८ काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा हिजो साँझ बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, सत्ता सहयात्रा र गठबन्धनको आगामी रणनीतिबारे छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुहुन्थ्यो ।

यसअघि गठबन्धनबाट बाहिरिएको भनेका नेता नेपाल पनि छलफलमा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ। शीर्ष नेताहरुको बैठकमा गठबन्धन थप प्रभावकारी बनाउँदै सरकार सञ्‍चालनमा सहयोग गर्ने सहमति भएको छ।

बैठकमा सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा सुझाव दिन गठित कार्यदलले गरेको कामबारे समीक्षा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगायत विषयमा छलफल भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन भत्काउने षडयन्त्र भएको बताए पछि बेलुका बैठक बसेको हो । बैठकअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गर्नु भएको थियो ।

यसैबीच दुई जना पूर्व प्रधानमन्त्री प्रचण्ड र नेपाल र दुई जना पूर्वउपप्रधानमन्त्री यादव र केसी सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बस्नु भएको थियो ।

प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बस्नु भएको थियो । गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा आफ्नो कुर्ची छोडेर सोफामा बसेको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *