Main News

पोष्ट कोभिड – लामो समय अस्पताल बस्दा ४ देखि ७ लाख रुपैयाँसम्म खर्च (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ९ गते १६:२६
पोष्ट कोभिड – लामो समय अस्पताल बस्दा ४ देखि ७ लाख रुपैयाँसम्म खर्च (भिडियो रिपोर्टसहित)

९ साउन २०७८ बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पोष्ट कोभिडका बिरामीको उपचार भइरहेको छ । लामो समय अस्पताल बस्दा उनीहरुको ४ देखि ७ लाख रुपैयाँसम्म खर्च भइसकेको छ । उपचारमा खर्च अभाव भएको भन्दै उनीहरुले सरकारसँग निःशुल्क उपचारको माग गरेका छन्।

भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका सुर्खेत भेरी गंगा नगरपालिकाका सुरज परियार गत जेठदेखि नेपालगन्जको भेरी अस्पतालमा उपचाररत हुनुहुन्छ । भारतबाट स्वदेश फर्किएको भोलिपल्टै परियारलाई कोरोना संक्रमण पुष्टि भयो ।

पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएर घर गएका परियार सास फेर्न र हिंडडुल गर्न गार्‍हो भएपछि पुन अस्पताल भर्ना हुनुभयो । तर अझै निको नभएकाले उहाँ अस्पतालमै हुनुहुन्छ । लामो समय अस्पताल बस्दा उहाँको ७ लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ । अब परियारलाई कसरी ऋण तिर्ने भन्दा चिन्ताले सताएको छ ।

सुरजजस्तै बर्दियाका पूर्ण थारुको तीन महिनादेखि भेरी अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण फोक्सोमा समस्या भए पछि थारुलाई अस्पतालमा नियमित रुपमा अक्सिजन दिएर उपचार गरिएको छ ।

सरकारले कोरोना संक्रमितको उपचार निशुल्क हुने बताए पनि पूर्णको उपचारका क्रममा ४ लाख भन्दा धेरै खर्च भइसकेको छ । अझै कति समय अस्पतालमा बस्नु पर्ने हो भन्ने एकीन छैन ।

उपचारका क्रममा लाखौँ खर्च हुने गरेको छ । त्यसैले पोष्ट कोभिडका बिरामीहरुलाई पनि निशुल्क उपचारको ब्यबस्था गरिदिन बिरामी र बिरामीका आफन्तले सरकारसँग माग गरेका छन ।

कोरोना संक्रमण पछि पिसिआर रिपोर्ट नेगेटिभ आए पनि श्वास फेर्न गार्‍हो हुने समस्यालाई चिकित्सकले पोष्ट कोभिड समस्या भन्ने गरेका छन । फोक्सोमा धेरै नै समस्या भएका त्यस्ता बिरामीलाई लामो समयसम्म अक्सिजन दिएर उपचार गर्नुपर्छ ।

आर्थिक अबस्था सबल भएका बिरामीले घर मै अक्सिजनको ब्यबस्था मिलाएर अस्पतालबाट डिस्चार्ज भए पनि गरिब तथा बिपन्न परिबारका बिरामीहरु ३(४ महिनादेखि अस्पतालमै भर्ना छन । अस्पतालमा भर्ना भएका ४ जना पोष्ट कोभिडका बिरामीहरुको उपचारका क्रममा मृत्यु भईसकेको छ ।

स्वास्थ्य मन्त्रालयको रेकर्ड सिस्टममा पोष्ट कोभिडको रेकर्ड राख्ने ब्यवस्था छैन । रेकर्ड राख्ने ब्यवस्था नभएका कारण कति मानिसहरुमा पोष्ट कोभिडको समस्या देखियो, उनीहरु मध्ये कति जनाको उपचार भईरहेको छ, कति जनाको मृत्यु भयो भन्ने रेकर्ड सरकारसँग छैन ।

तर चिकित्सकहरुले भने कोरोना संक्रमणका कारण सिकिस्त बिरामी परेकामध्ये ५ देखि १० प्रतिशतसम्मका पोष्ट कोभिडको समस्या देखिएको अनुमान गरेका छन् ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *