Main News

सदस्यता विवादमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका सांसद सिंहमाथि कारबाही माग

हिमालय टिभी
२०७८ साउन ८ गते १३:२०
सदस्यता विवादमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका सांसद सिंहमाथि कारबाही माग

८ साउन २०७८ काठमाडौं । क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई कारबाही गर्न माग गरिएको छ ।

सिंहकै जिल्ला सर्लाहीका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग गरेका छन् । सिंहलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने घोषणा समेत गरेका छन् ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै सिंहले अस्ती पार्टी सभापति देउवा समक्ष राजीनामा बुझाउनुभएको थियो।

कांग्रेसबाट प्रदेशका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले हिजो साँझ पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता कार्यकर्ता आतंकित भइसकेको भन्दै कारबाहीको माग गरेका हुन् ।

पार्टीको विधि विधान अनुरुप कारबाही गरी वडादेखि क्षेत्रसम्मको निर्णयको इन्ट्री भएका क्रियाशील सदस्यता सदर गरिदिन माग गरिएको प्रदेश सभा सदस्य एवं प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्री वीरेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो ।

मन्त्री सिंहसहित, प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, क्षेत्रीय सभापति राम आश्रय साह, बसबरिया गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, रामनगर गाउँपालिका अध्यक्ष नितु कुमारी यादव, क्षेत्रीय सभापति हरेन्द्र सहनी लगायत स्थानीय नेताहरुले संयुक्त रुपमा पठाएको पत्रमा अमेरश कुमार सिंहविरुद्ध पार्टी हितविपरीत काम गरेको भन्दै विभिन्न आरोपहरु लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *