राजनीति

देउवालाई भोट दिने २२ जनालाई स्पष्टिकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते १४:३१
देउवालाई भोट दिने २२ जनालाई स्पष्टिकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । नेकपा एमालेले पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

एमाले संस्थापन पक्षको केन्द्रीय कमिटी बैठकले २२ जनालाई स्पष्टिकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए कारवाही गर्ने निर्णय गरेको हो । एमालेले उनीहरुलाई २४ घण्टा भित्र स्पष्टिकरण दिन भनेको छ ।

एमालेको नेपाल–खनाल समूह र उपाध्यक्ष बामदेव गौतमले बहिस्कार गरेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई मत दिने २२ जनालाई कारवाही गर्ने गरी स्पष्टिकरण सोध्ने प्रस्ताव गर्नुभएको थियो । जसलाई केन्द्रीय कमिटीले पारित गरेको हो ।

देउवालाई मत दिनेमा ओली पक्षकै आठ जना सांसद समेत छन् । प्रधानमन्त्री देउवालाई हिजो वरिष्ठ नेता माधवकुमार नेपाल, विरोध प्रेम आले, किसन श्रेष्ठ, बिना बुढाथोकी, हीरा केसी छन्, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जनले भोट दिनु भएको थियो ।

यस्तै विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरीले पार्टी निर्णय विपरित देउवालाई भोट दिनुभएको थियो ।

अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सांसदहरुले आफू खुशी भोट दिन पाउने र त्यसो गर्दा दलले कारवाही गर्न नपाउने फैसला गरेपनि एमालेले कारवाहीको निर्णय गरेको हो । तर त्यो कारवाही सांसद पदसित जोडिन्छ कि पार्टीको आन्तरिक जिम्मेवारीसँग भन्ने अझै प्रष्ट भएको छैन ।

कार्यदलको सहमति अनुसार ०७५ साल जेठ ३ को संरचना अनुसार दशौं बैठक भनिएको एमाले केन्द्रीय कमिटीले कार्यदलको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै स्वामित्व लिएको छ ।

नेपाल–खनाल पक्षले भने दशौं बैठक भनेर नौटंकी गरिएको भन्दै बहिस्कार गरेको छ । एमालेको बैठकले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजिनामालाई दिएकोमा त्यसलाई गलत भनेको छ ।

देउवालाई भोट दिने नदिने विषयमा विवाद भएपछि रावलले हिजो सांसदबाट राजीनामा दिनुभएको थियो । पहिले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका रावलले हिजो एक्कासी राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्