चीनले १६ लाख डोज खोप अनुदानमा दिने, काठमाडौंमा जारी खोप अभियान स्थगित

१ साउन २०७८ काठमाडौं । चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदान दिने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले खोप सहयोगबारे औपचारिक जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराउनुभएको थियो ।
चीनले यसअघि दुई पटक गरेर १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ ।
यस्तै नेपाल सरकारले चीनसँग ४० लाख डोज खोप खरीद पनि गरेको छ । खरीद गरेको मध्ये ८ लाख डोज नेपाल आइसकेको छ ।
यसैबीच काठमाडौंमा चार दिनदेखि जारी कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ।
मौज्दात रहेको भेरोसेल खोप सकिएपछि अभियान स्थगित गर्नुपरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।
काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो । खडकाले खोप आएपछि अर्को सूचना निकालेर खोप लगाउने जानकारी दिनुभयो । काठमाडौंमा खोप लगाउन ४४ वटा भन्दा बढी केन्द्र तोकिएको छ ।
अहिले चलिरहेको खोप अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई भेरोसेलको पहिलो मात्रा लगाइएको थियो ।
प्रतिक्रिया