साउन १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउने तयारी

३१ असार २०७८ काठमाडौं । साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताउनुभयो ।
आज बस्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस विषयमा निर्णय लिने उहाँको भनाइ छ । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्था बारे पनि समीक्षा हुनेछ ।
यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।
यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडीभित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात लगायत विभिन्न पसलहरु खुल्न दिए पनि अन्य विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न अझै रोक लगाइएको छ ।
प्रतिक्रिया