राजनीति

निवर्तमान प्रधानमन्त्री बालुवाटारबाट बालकोट पुग्दा जे देखियो…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ३० गते २०:३७
निवर्तमान प्रधानमन्त्री बालुवाटारबाट बालकोट पुग्दा जे देखियो…(भिडियो रिपोर्टसहित)

३० असार २०७८ काठमाडौं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर आज आफ्नो निवास भक्तपुरको बालकोट फर्कनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दोश्रो दिन एमाले अध्यक्षसमेत रहेका ओली बालुवाटार छाडेर आफ्नै निवास बालकोट फर्कनुभएको हो । ओलीलाई बालुवाटारबाट नेकपा एमालेका कार्यकर्ताले स्कर्टिङ्ग गर्दै बालकोट पुर्याटएका छन् ।

जनताले झण्डै दुई तिहाई मत दिएर ५ वर्षका लागि बालुवाटर पुर्याटएका केपी शर्मा ओली ४ वर्षमै सत्याच्युत भएर घर फर्कनुभएको छ ।

तर नेकपा एमालेको संस्थपन पक्ष अर्थात अझ भनौँ ओली निकट कार्यकर्ताले देखाएको यो व्यवहार र यो माहोल हेर्दा लाग्छ ओली दुई तिहाईको सरकारको नेतृत्व गर्न गइरहनु भएको छ ।

जसरी नेता बन्न खोज्दा ज्ञानेन्द्र शाहले राजगद्दी गुमाउने परेको थियो । ठिक त्यसैगरी विधि पद्धतिको खिल्ली उडाउँदै अधिनायवादी शासक बन्न खोज्दा ओलीले सत्ता गुमाउनु भयो ।

अर्थात ओलीको राजा बन्ने रहरले शासन गुम्यो । तर दुईतिहाईको सरकार गुम्दा, पार्टी फुट्दा समेत ओली र ओलीका समर्थकलाई कुनै ग्लानी छैन । बरु उनीहरुले निकै ठूलो काम भएको जस्तो गरेर रमाईरहेका छन् । ओलीलाई प्रशंसा चाहिएको छ र कार्यकर्ता त्यसै गरिरहेका छन् ।

हुन त भ्रष्टाचार तथा हत्या अभियोग प्रमाणित भएर जेल परेका आफ्ना नेता सजाय भोगेर रिहा हुँदा १ सय किलोको माला लिएर जेलको ढोकैमा स्वागत गर्न जाने कार्यकर्ता र संस्कार भएको देशमा यो कुनै नौलो हैन ।

तर जनादेश अनुसार शासन नगर्ने, त्यसलाई जोगाउन नसक्ने र जे गर्दा पनि आफै ठीक हुँ भनेर देखाउन खोज्ने प्रवृत्तिले ओली अहंकार छोडेर होइन, अहंकार लिएरै बालकोट फर्कनुभएको छ ।

ओलीले दुई दुई पटक जनमतको अपमान गर्दै संसद विघटन गर्नुभयो । दुई पटक नै उहाँको त्यो काम असंवैधानिक रहेको अदालतले ठहर गर्यो ।

आफू नरहे कुर्सीनै भाँचिदिने धम्की दिने ओलीलाई अन्तिममा अदालतले सत्ताच्यूत गर्यो । ओलीले गलत गरेकैले अदातलले सच्यायो । तर ओलीलाई बा भन्ने यी कार्यकर्ता आफ्ना नेतालाई दुई दुई पल्ट गलत काम किन गर्यौ। बा भनेर सोध्न सक्दैनन् ।

यसरी प्रश्न सोध्न सक्थे र गलत कामको खबरदारी र सही कामको प्रसंशा गर्न सक्थे भने उनीहरुले ओलीलाई उहाँकै निवासको बाल्कोनीमा यसरी अवार्ड र अभिनन्दन पत्र दिने थिएनन् ।

विधिविधानले गलत भन्यो तर उनीहरु प्रशंसा पत्र दिँदैछन । प्रश्न चाकडी र आत्मप्रशंसाको मात्रै होईन, अहिले कोभिडका बेला बालुवाटारदेखि बालकोटसम्म जे देखियो, त्यसले ओली र ओलीलाई बा भन्ने कार्यकर्तालाई कुनै कुराको मतलब छैन, कोरोनाको पनि मतलब छैन,मतलब हुन्थ्यो भने उनीहरुले बालुवाटारदेखि बालकोटसम्म यो भीडभाड र सडक कब्जा गर्ने हरकत हुने थिएन ।

अस्तिसम्म ओली अरुलाई कोरोना नियन्त्रणमा सहयोग नगरेको, आन्दोलन गर्न खोजेको भन्दै आलोचना गर्नुहुन्थ्यो । तर आफ्ना लागि र आफ्नाले गर्दा सबै ठीक छ । यी गतिविधिबाट के पुष्टि हुन्छ भने उनीहरु पनि आफ्ना बाको चाकडीमै रमाउँछन् ।

आफूहरुले जे गर्दा बा खुसी हुन्छन् भन्ने लाग्छ उनीहरु त्यही गर्छन् । अर्थात चाकडी र आत्मप्रशंसा ओली प्रवृत्ति हो, जसलाई विधि विधानसित कुनै मतलव छैन । र, यसले के पुष्टि गर्छ भने ओली सत्ताच्यूत भएको पनि आफ्नै कारणले हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्