Main News

शेरबहादुर देउवा : विवादास्पद विगत, कस्तो होला भविष्य ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २९ गते २०:१८
शेरबहादुर देउवा : विवादास्पद विगत, कस्तो होला भविष्य ? (भिडियो रिपोर्टसहित)

२९ असार २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका यसअघिका कार्यकाल खासै सम्झन लायक छैनन् । बरु प्रधानमन्त्रीका रुपमा देउवाले धेरै बदनामी कमाएको इतिहास छ । प्रधानमन्त्री हुँदा पार्टीदेखि लोकतन्त्रसम्मलाई क्षति पुर्‍याउने काम गरेको भन्दै उहाँको आलोचना हुने गरेको छ ।

देउवा पहिलो पटक २०५२ साल भदौमा प्रधानमन्त्री बन्नुभयो । तर पहिलो कार्यकाल नै निकै विवादित रह्यो । देउवाका पालामा महाकाली सन्धि भयो । यो सन्धिको देउवाले ठूलो प्रचार गर्दै नेपालकै भाग्यसम्म भन्न भ्याउनुभयो । तर अहिलेसम्म यो सन्धि विवादित छ र परिणामले महाकाली सन्धि देशको हितमा थिएन भन्ने पुष्टि भएको छ ।

त्यतिबेला देउवा बदनाम हुनुको अर्का कारण थियो ४८ जनाको जम्बो मन्त्रिपरिषद्। सत्ता टिकाउन देउवाको नेतृत्वमा अनेकौं विकृति भए प्राडो, पजेरो काण्ड यही बेलाका उपज हुन जुन संसदीय विकृतिका रुपमा अहिले पनि कुख्यात छन् । देउवाकै पालामा माओवादी जनयुद्ध शुरु भयो ।

देउवाको दोस्रो कार्यकाल पनि राम्रो रहेन । ०५८ साल साउनदेखि ०५९ साल असोजसम्म प्रधानमन्त्री बनेका देउवाको दोस्रो कार्यकालमा संसद विघटन भयो । बहुमत सांसदको चाहना विपरित देउवाले संसद विघटन गरिदिनुभयो । अहिले पनि देउवालाई प्रजातन्त्र दरबारमा बुझाएको आरोप लाग्ने गरेको छ र त्यो दोस्रो कालमा देउवाले गरेको गलत कामकै कारण हो ।

देउवाकै कारण दरबार सक्रिय भयो, अक्षम भनेर तत्कालीन राजा ज्ञानेन्द्रबाट देउवालाई पदच्यूत गर्ने काम भयो । यही कार्यकालमा देउवाले पार्टी नै फोरेको इतिहास छ । यो कार्यकालमा गरेको कामले अहिले पनि देउवामाथि अनेकौं प्रश्न उठ्ने गरेका छन् ।

तेस्रोपटक देउवा २०६१ साल जेठमा प्रधानमन्त्री बन्नुभयो । तर आफैंले प्रतिनिधि सभा विघटन गर्दै प्रतिगमनलाई सहज तुल्याएका देउवा यसपटक दरबारको जालमा फस्नुभयो । अरु दलले प्रतिगमनको विरोधमा आन्दोलन गरिरहेका बेला देउवा भने तत्कालीन राजाको निगाहमा प्रधानमन्त्री बन्नुभयो ।

पहिले आफैलाई गलहत्याएका राजाले न्याय गरे भन्दै देउवा खुशी हुनुभयो । देउवाको आफ्नो संसदप्रति निष्ठा रहेको दावी थियो तर संसद्‌बिनाको प्रधानमन्त्री बन्न तयार हुनु भने शोभनीय थिएन । परिणाम फेरि देउवाले भोग्नुपर्यो । तत्कालीन राजा ज्ञानेन्द्रले चुनाव गराउन नसकेको भन्दै फेरि अपदस्थ गरेर शासन सत्ता हातमा लिनुभयो । त्यसपछि मात्रै देउवा अरु दलसँगै आन्दोलनमा लाग्नुभएको थियो ।

चौथोपटक देउवालाई २०७४ जेठमा प्रधानमन्त्री बन्ने मौका मिल्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसितको सत्ता साझेदारीमा देउवा गणतान्त्रिक व्यवस्थामा पहिलो पटक प्रधानमन्त्री बन्नुभयो ।

यसपटक देउवाले संविधान बनेपछिको पहिलो चुनाव गराउनुभयो । तर यसपटकको कार्यकाल पनि विवादित बन्यो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग, प्रहरी महानिरीक्षक प्रकरणले देउवाको साख गिर्‍यो ।

भारत भ्रमणका बेला संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्ने, फ्रि तिब्बतको पक्षमा रहेका धर्मगुरुलाई भेट्ने जस्ता गलत काम पनि देउवाबाट भए । राजनीतिक नियुक्ति, सरुवा बढुवा र राज्यको चरम दुरुपयोग पनि भयो । यही कार्यकालमा ६४ सदस्यीय मन्त्रिपरिषद् बन्यो । चुनाव हारेर पनि सत्ता हस्तान्तरण गर्न नमानेपछि चर्को आलोचना भयो ।

संयोगले पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवासँग विगतमा गरेका कमजोरीबाट सिक्ने र केही गर्ने अवसर आएको छ । कम्तीमा ओलीले गरेका गल्तीबाट पाठ सिकेर काम गरे पनि देउवाको छवि केही राम्रो बन्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *