Main News

आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान शुरु गरिँदै

हिमालय टिभी
२०७८ असार २९ गते ९:५३
आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान शुरु गरिँदै

२९ असार २०७८ काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्ध भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप अभियान आजदेखि शुरू हुँदैछ ।

गण्डकी प्रदेशमा १ लाख ४२ हजार ६ सय ५० डोज र लुम्बिनी प्रदेशमा १ लाख १४ हजार डोज खोप पठाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयहरुले जिल्ला–जिल्लामा खोप पठाइसकेका छन् ।

सरकारले आजदेखि शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याएको जोनसन एन्ड जोनसन खोप आजदेखि पहिलो मात्रा लगाउन थालिनेछ ।

यद्यपि जोनसन एन्ड जोनसन खोप भने एक मात्रा मात्रै लगाए हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई भेरोसेल खोप दिइने भएको छ ।

यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकलाई पनि आजदेखि खोप दिइने छ ।

नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्नहरूलाई पनि भेरोसेल खोप दिइने छ । यस्तै ५० देखि ५४ वर्ष उमेर समूहलाई जोनसन एन्ड जोनसन खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ‘क’ र ‘ख’ वर्गको परिचय पत्र भएका अपाङ्गता भएका व्यक्तिहरू, अहिले नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघिको अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सरसफाइकर्मीहरूलाई पनि जोनसन एन्ड जोनसन खोप दिइने भएको छ ।

खोप लगाउन जाँदा आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ ।

सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।

शिक्षक तथा कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप पाउने छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूले पासपोर्ट र भिसाको आधारमा खोप पाउने मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कूल जनसङ्ख्याको ८ दशमलव ८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३ दशमलव ५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *