Main News

अमेरिकाबाट कोरोनाविरुद्धको १५ लाख डोज खोप आज नेपाल आइपुग्दै

हिमालय टिभी
२०७८ असार २८ गते ७:५८
अमेरिकाबाट कोरोनाविरुद्धको १५ लाख डोज खोप आज नेपाल आइपुग्दै

२८ असार २०७८ काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको १५ लाख डोज जोनसन एण्ड जोनसन खोप आज नेपाल आइपुग्दैछ ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गरेको थियो । खोप आज बिहान नेपाल आइपुग्ने कार्यतालिका छ ।

आज आउने खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राजदूत र्‍याण्डी बेरीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त खोप एक मात्रा लगाए पुग्छ ।

कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताउनुभयो ।

राजदूत खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेषित गरेको पत्रको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई अधिकतम सहयोग गर्ने बताए जानकारी दिनुभयो ।

अमेरिकाका सङ्घीय सरकारका जनप्रतिनिधिमार्फत नेपाललाई खोप उपलब्ध गराउनका लागि समन्वय गर्दै आएका मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारले नेपाललाई हरेक सहयोगमा प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्याधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *