राजनीति

माओवादी केन्द्र खारेज गर्न आयोगलाई एमालेभित्रका पूर्वमाओवादी नेताहरुको दबाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २५ गते १५:०७

२५ असार २०७८ काठमाडौं । नेकपा एमालेभित्रका पूर्वमाओवादी नेताले निर्वाचन आयोग पुगेर नेकपा माओवादी केन्द्र खारेजीका लागि दबाब दिएका छन् ।

पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लगायतका नेताहरुले आज आयोगका पदाधिकारीलाई भेटेर दबाब दिएका हुन् ।

यो समूहले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अवैधानिक रहेको र उसले गरेका सबै निर्णय अवैध भएको दावी गर्दै तीन दिन अघि खारेजीका लागि निवेदन दिएको छ । त्यो निवेदनमा छिटो निर्णय गर्न आयोगलाई उनीहरुको दबाब छ ।

माओवादी छोडेर एमालेमा लागेपछि कारवाहीमा परेर सांसद पद गुमाएका उनीहरु माओवादीलाई अवैध बनाउने कोशिसमा लागेका छन ।

०६९ देखि महाधिवेशन नगरेकोले नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन अनुसार माओवादी केन्द्रको दर्ता खारेज हुनुपर्ने उनीहरुकमो माग छ ।

सर्वोच्च अदालतले फागुन २३ मा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।

पार्टीले तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । माओवादीको निर्णय र सिफारिसका आधारमा संसद सचिवालयले थापा, रायमाझी, भट्ट, चौधरी, खडका र प्रभु साहलाई पदमुक्त गरेको थियो ।

तर, माओवादी केन्द्र नै अवैध भएकाले त्यसले गरेका कारबाही पनि वैध नहुने पूर्वमाओवादी नेताहरूको तर्क छ ।पूर्व माओवादी नेताहरुको यो प्रयासलाई संसद पूनस्थापना भएमा सांसद पद फिर्ता ल्याउने प्रयासका रुपमा हेरिएको छ । उनीहरुले अदालत जाने तयारी पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्