Main News

कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई आजदेखि दोस्रो डोज लगाइँदै

हिमालय टिभी
२०७८ असार २२ गते ७:४७
कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई आजदेखि दोस्रो डोज लगाइँदै

२२ असार २०७८ काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई आजदेखि दोस्रो डोज लगाइने भएको छ ।

अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाले समेत आजदेखि दोस्रो डोज लगाउन पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ । पहिलो मात्रा लगाएकाले कार्ड अनिवार्य देखाउनुपर्नेछ ।

चीनले हालसम्म १८ लाख डोज खोप सहयोग गरिसकेको छ । देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो डोज लगाइएको थियो ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको लक्षित समूहको प्राथमिकीकरणअनुसार अब २ करोड १७ लाख ५६ हजारलाई खोप लगाउनु पर्नेछ । अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा लगाएका छन् ।

२६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना बित्नै लाग्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन् । उनीहरूका लागि सरकारले एस्ट्रेजेनेकाको खोप लगाउने निर्णय गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ४२ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यस्तै, सरकारले चीनबाट १५ दिनभित्र ४० लाख डोज भेरोसेल खोप ल्याउँदैछ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत ल्याउनेछ । निगमले खोप ल्याउन कार्गो उडानको तालिका तय गरिसकेको छ ।

पहिलो उडान यही असार २४ गते हुनेछ । दोस्रो असार ३१ मा र तेस्रो उडान साउन ७ गते हुने तय भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप खरिद प्रक्रिया अघि बढाइएको थियो । चीनबाट प्राप्त भएको भेरोसिल खोप प्राथमिकता सूचीका आधारमा लगाइनेछ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार अबको प्राथमिकतामा ५५ देखि ६० वर्षका नागरिक पर्नेछन् । ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पनि प्राथमिकतामा पर्नेछन् ।

यस्तै, वैदेशिक रोजगारबाट फर्केका र नेपालमा रहेका शरणार्थीहरूमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा राखिएको छ। ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *