Main News

पीसीआर रिपोर्ट नेगेटिभ आए पनि पोष्ट कोभिडका कारण संक्रमित समस्यामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २१ गते १४:१३
पीसीआर रिपोर्ट नेगेटिभ आए पनि  पोष्ट कोभिडका कारण संक्रमित समस्यामा (भिडियो रिपोर्टसहित)

२१ असार २०७८ बाँके । नेपालगञ्जका अस्पतालमा पोष्ट कोभिडका संक्रमित बढ्न थालेका छन् । पीसीआर रिपोर्ट नेगेटिभ आए पनि पोष्ट कोभिडको समस्याका कारण संक्रमित समस्यामा परेका छन् ।

कोरोना संक्रमण निको भए पनि सास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कम हुने जस्ता समस्या देखिएदा बिरामीहरु धमाधम अस्पताल भर्ना हुन थालेका हुन् । फोक्सोमा समस्या देखिएसँगै उनीहरुलाई जनरल बेड, आइसीयु वार्डमा भर्ना गरी नियमित रुपमा अक्सिजन दिन थालिएको छ ।

यसरी समस्या देखिन थालेपछि कोरोना रिपोर्ट नेगेटिभ आएकाहरु पनि महिनौंदेखि अस्पतालमै छन् । किनभने उनीहरुको फोक्सोमा समस्या छ । निको भयो भनेर घर पठाइएकाहरु पनि शरीरमा समस्या देखिएपछि केही दिन पछि नै अस्पताल आइपुग्छन् । अहिले पोस्ट कोभिडका २० जना बिरामी नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत छन् ।

सरकारले सरकारी अस्पतालहरुमा कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरेको छ । तर पोस्ट कोभिडको संक्रमितमा कोरोना रिपोर्ट नेगेटिभ आएकाले सरकारले उनीहरुलाई कोरोनाको बिरामी मान्दैन र उपचार शुल्क आफैँले व्यहोर्नू परिरहेको छ । उनीहरु पोस्ट कोभिडका कारण उसै त समस्यामा परेका छन्, अझै आर्थिक समस्याका कारण झन् उनीहरुमा समस्या थपिएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएर पनि अक्सिजन कम हुने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, थकान महसुस हुने लगायतका समस्या देखियो भने यो पोस्ट कोभिडको लक्षण हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

पोस्ट कोभिडका विरामीलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाइ लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिंड्दा स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन् । त्यसैले पोस्ट कोभिडको उपचार समयमै गर्न चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *