माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आजदेखि विद्युत उत्पादन

२१ असार २०७८ काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि विद्युत उत्पादन थाल्ने भएको छ ।
आजै बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गर्नुहुने छ । कूल ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागिएको हो ।
आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको बताउनु भयो । पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार बिजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
आयोजनाले हिजो मात्रै विद्युत् गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७ दशमलव २ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो ।
आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो । यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ ।
आयोजनाबाट उत्पादित बिजुली बिद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ अनि ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । यो स्वदेशी लगानीमा सम्पन्न हालसम्मकै ठूलो आयोजना हो ।
यस्तै यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ ।
शुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्बको हाराहारी पुगेको छ ।
प्रतिक्रिया