राजनीति

कार्यदल ब्यूँताउन ओलीद्वारा अस्वीकार, नेपाल ओलीसँग भेट्न अनिच्छुक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २० गते २०:३२
कार्यदल ब्यूँताउन ओलीद्वारा अस्वीकार, नेपाल ओलीसँग भेट्न अनिच्छुक (भिडियो रिपोर्टसहित)

२० असार २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य दिएर एकताको सन्देश दिने प्रस्ताव गरेको छ । प्रस्तावमा वरिष्ठ नेता नेपालले सहमति जनाए पनि वक्तव्यको विषयवस्तु के हुने र कसरी टुंग्याउने भन्ने विषयमा विवाद भएको छ ।

नेपालले कार्यदललाई ब्यूँताएर त्यसैले टुंगो लगाउने प्रस्ताव नेपालले गरेपनि ओली पक्षले त्यसलाई अस्वीकार गरेको छ भने नेपालले पनि ओलीसँग भेटवार्ता गर्न अस्वीकार गर्नुभएको छ ।

आइतबार बिहानै नेपाल–खनाल पक्षकै नेता घनश्याम भुसाललाई लिएर ओली निकट विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेम्वाङ वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुग्नुभयो ।

ओलीको सन्देश लिएर नेपालको घर पुगेका ओली पक्षका तीन नेताले एकता जोगाउन भन्दै संयुक्त वक्तव्य दिने प्रस्ताव अघि सारे । ‘हामी एक ठाउँ छौं र हुन्छौं’ भन्ने सन्देश दिने गरी ओली र नेपालको हस्ताक्षरमा संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव आएपछि वरिष्ठ नेता नेपालले पनि सहमति जनाउनुभयो ।

जसमा ओली सहमत भएकैले पौडेल, नेम्वाङ र पोखरेलले नेपाललाई यो प्रस्ताव गर्नुभएको थियो । तर त्यो वक्तव्यको विषय के हुने र कसरी फाइनल गर्ने भन्ने विषयमा वरिष्ठ नेता नेपालले प्रश्न उठाउँदै कार्यदल ब्यूताउँ भनेर प्रस्ताव गर्नुभयो ।

एक नेताका अनुसार संयुक्त वक्तव्यको विषय पनि फाइनल गर्ने र अरु विवादका विषयमा पनि सहमति जुटाउने गरी कार्यदल ब्यूताउँ भन्ने नेपालको प्रस्ताव थियो । तर कार्यदल ब्यूँताउने प्रस्तावमा ओली निकट तीन नेताले जवाफ दिन सकेनन् । किनकी अध्यक्ष केपी शर्मा ओली कार्यदल ब्यूँताउन सहमत हुनुहुन्न । किनकी ओलीको अडान छ, देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लेउ ।

कार्यदल ब्यूँताउने अडानमा नेपाल बसेपछि ओली निकट नेताहरुले फेरि दुई नेताबीच भेटवार्ताको प्रस्ताव अघि सारे । ओली र नेपालबीच भेटवार्ता भए सहमति गर्न सजिलो हुने उनीहरुको धारणा थियो । तर वरिष्ठ नेता नेपालले भेट्ने ठूलो कुरा होइन, छलफलको विषय के हुन्छ त्यो ठूलो हो भनेर फेरि पनि कार्यदल ब्यूँताउने प्रस्ताव मै अडिनुभयो । अर्थात नेपालले ओलीसित भेट गर्नु मान्नुभएन ।

पौडेलले नेपालले भेट्न नमानेको बताए पनि सहमतिका लागि सक्रिय नेपाल –खनाल पक्षका एक नेता त्यो आंशिक सत्य मात्रै भएको बताउँछन् । उनका अनुसार नेपालले भेट्न नमानेको हो, तर अध्यक्ष ओलीले कार्यदल ब्यूँताएर सहमति खोज्न नमानेको पनि उत्तिकै सत्य हो । उनका अनुसार ओली र उहाँ पक्षधर नेताहरुले भित्र एउटा र बाहिर अर्को कुरा गर्ने गरेका छन ।

ओलीकै भनाइअनुसार पनि नेता नेपालले भेट्न मान्नुभएको छैन ।निकटस्थहरुका अनुसार नेता नेपालले ओलीसँग साह्रै चित्त दुखाएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमका अनुसार दुई नेताबीच यति तीक्तता छ कि स्थिति सहज छैन । त्यसैले आफू उनीहरुको रिस मार्ने काममा लागेको गौतमको दावी छ ।

प्रधानमन्त्री ओलीले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिनुभएको छ। नेता नेपाल हस्ताक्षर फिर्ता नहुने अडानमा हुनुहुन्छ । केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ता लिनका लागि दिएको समयसीमा सोमबार साँझ ५ बजे सकिँदै छ । तर, ‘अवैधानिक कमिटी’ले दिएको निर्देशन नमान्ने अडानमा नेपाल खनाल समूहको अडान छ । त्यसका लागि पार्टी जेठ २ मा फर्कनुपर्छ । तर ओली फर्किसक्क्यौं भन्नुभएको छ, जसलाई नेपाल खनाल पक्षले मानेको छैन । सहमतिका लागि ओलीले पछिल्लो निर्णय फिर्ता लिनपर्ने नेपाल खनाल पक्षको अडान छ ।

विवादमा समाधानका लागि दोस्रो तहका नेताहरु केही समययता दिनहुँ छलफल गरिरहेका छन् । तर, एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालले भने जस्तो समस्या उस्तै छ । उपाध्यक्ष गौतमका अनुसार सर्वोच्चले संसद विघटनका विषयमा निर्णय दिएपछि मात्रै एकता हुने देखिन्छ ।

पछिल्ला केही दिनका अभ्यास र व्यवहारले एमाले एकता होईन, विभाजनतिरै अघि बढेको छ । किनकी एकताको नारामा विभाजनकै खेल भएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्