Main News

संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने महान्यायाधिवक्ता बडालको तर्क

हिमालय टिभी
२०७८ असार १४ गते १३:१३
संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने महान्यायाधिवक्ता बडालको तर्क

१४ असार २०७८ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ ।

विपक्षीहरुको तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस शुरु गर्नुभएको छ । बहस गर्न तीन घण्टा समय पाएका बडालले संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने दावी गर्नुभयो ।

संविधानको धारा १ सय ३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा आउन संघ र प्रदेशबीचको विवाद वा संघ र स्थानीय तहबीचको विवाद भएको हुनुपर्ने बडालको तर्क छ ।

महान्यायाधिवक्ता बडालले रिट निवेदकका पक्षमा फैसला आए बहुदलीय व्यवस्थाको अन्त्य हुने तर्क समेत गर्नुभयो । रिट निवेदकका पक्षबाट चार दिन भएका बहसलाई बडालले गाली पुराणको संज्ञा दिनुभयो ।

आजै बडालपछि नायब महान्यायाधिवक्ता पदम पाण्डेयले बहस गर्नुहुनेछ । हिजो रिट निवेदक पक्षको बहस सकिएकाले आजदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुले बहस सुरु गरेका हुन् ।

विपक्षीमध्ये सभामुखका कानुन व्यवसायीले छुट्टै समय पाउने छन्। त्यसपछि रिट निवेदक पक्षले थप ३ घण्टा जवाफी बहस गर्न पाउनेछन ।

जवाफी बहसपछि एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले आ–आफ्नो राय दिनुहुनेछ । त्यसपछि अन्तिममा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *