काठमाडौं उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा एक साता थप गर्ने तयारी
१३ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
निषेधाज्ञाका बारेमा निर्णय गर्न दिउँसो चार बजे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ । निषेधाज्ञा थप खुकुलो बनाउने बारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाइ छ । अहिले निजी गाडी र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।
यस्तै, तरकारी तथा फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ भने पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्दै आएका छन् । निश्चित समय तोकेर हार्डवेयरलगायत अन्य पसल पनि खोल्न दिइएको छ ।
सार्वजनिक गाडी, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । अब थप हुने निषेधाज्ञामा सार्वजनिक गाडी खुलाउने नखुलाउने भन्नेबारे आज छलफल हुनेछ ।
विज्ञले सङ्क्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक गाडी खुलाउन हतार नगर्न सुझाव दिएका छन् । तर, यातायात व्यवसायीले लामो समयदेखि गाडी थन्किँदा समस्यामा परेको भन्दै खुलाउन माग गर्दै आएका छन् ।
काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति १२ बजेदेखि सकिँदैछ ।
प्रतिक्रिया