राजनीति

विपक्षीमाथि प्रधानमन्त्री ओलीको प्रत्याक्रमण, राष्ट्रपतिको बचाउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ११ गते २१:०७
विपक्षीमाथि प्रधानमन्त्री ओलीको प्रत्याक्रमण, राष्ट्रपतिको बचाउ (भिडियो रिपोर्टसहित)

११ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनका शीर्ष नेतामाथि फेरि निशाना साँध्नुभएको छ । विदेशी हस्तक्षेप निम्त्याउन र गणतन्त्र समाप्त गर्न खोजेको प्रधानमन्त्रीको गम्भीर आरोप छ ।

बालुवाटारमा परराष्ट्र नीति अनुसन्धान प्रतिष्ठानले आज गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो देशभक्तिमाथि प्रश्न उठाएकोमा पनि कडा आपत्ति जनाउनुभयो ।

संसद विघटन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना भैरहेको छ । विपक्षी दल र स्वयं एमालेकै एक समूहले प्रधानमन्त्रीमाथि विदेशीको इशारामा काम गरेको र गणतन्त्र मास्न खोजेको आरोप लगाईरहेका छन । उनीहरुले प्रधानमन्त्रीका देश र जनता विरोधी काममा मतियार बनेको आरोप लगाएका छन ्।

तर, शुक्रबार प्रधानमन्त्रीले विपक्षी माथि प्रत्याक्रमण गर्दै आफुमाथि लागेका आरोप खण्डन गर्नुभयो । पाँच जना भूतपूर्व प्रधानमन्त्रीले विज्ञप्ति नै निकालेर विदेशी हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री जिम्मेवार रहेको आरोप लगाएका थिए । तर प्रधानमन्त्रीले ओलीले भने यसमा विपक्षी गठबन्धनलाई नै दोषी करार गर्नुभयो ।

अहिले सत्तापक्ष र विपक्ष दुवैले विदेशी हस्तक्षेपको कुरा उठाइरहेका छन् । फरक यत्ति हो उनीहरुले एक अर्कामाथि विदेशी हस्तक्षेप निम्त्याएको ठान्छन । अर्थात हस्तक्षेप छ भन्ने दुवैले स्वीकारेका छन् । प्रधानमन्त्रीले पनि यो स्वीकार्नु भएको छ, तर जे हुनुपर्ने हो त्यो नभएकै कारण समस्या बढेको उहाँको तर्क छ ।

विपक्षी चार दल र एमालेकै नेपाल–खनाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि गम्भीर प्रश्न उठाइरहेको छ । राष्ट्रपति संविधानविपरीत चल्दा गणतन्त्रप्रति नै गलत धारणा बनिरहेको उनीहरुको आरोप छ । तर प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिको आलोचना गरेको पटक्कै चित्त बुझेको छैन ।

पहिले पहिले झै शुक्रवार पनि प्रधानमन्त्री राष्ट्रपतिको बचाउमा उत्रिनुभयो । त्यति मात्रै होइन, राष्ट्रपतिमाथि प्रश्न उठाउने विपक्षी गठबन्धनलाई गणतन्त्र विरोधी नै घोषणा गरिदिनुभयो ।

संसद विघटनसम्म आइपुगेको यो राजनीतिमा केही समय अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र जसपाको महन्थ ठाकुर समूह दुई ध्रुबमा थिए । दुवैले एक अर्कालाई देशघाती सम्म भन्न भ्याएको स्थिति थियो । तर एकाएक पछिल्लो पटक दुई जनाको घाँटी जोडिएको छ ।

संविधान संशोधन सुन्नै नचाहने ओली त्यसका लागि तयार हुनुभयो, नागरिकता सम्बन्धी अध्यादेश आयो र ठाकुर समूह सरकारमा पनि गयो । यो अस्वाभाविक मिलनमा धेरैले प्रश्न उठाएका छन् ।तर प्रधानमन्त्रीले ठाकुर समूहसँगको सहकार्यको पनि यसरी बचाउ गर्नुभयो ।

विदेशी हस्तक्षेप र गणतन्त्र खतरामा रहेको कुरा पटक पटक उठ्ने गरेको छ । विपक्षी दलले यसमा प्रधानमन्त्री र राष्ट्रपति मुख्य जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन् । तर प्रधानमन्त्री ओलीले यीनै विषय उठाएर त्यसका लागि विपक्षी नै कारक रहेको दाबी गर्नुभएको छ । यी आरोप प्रत्यारोप हेर्दा देशमा संकटको अवस्था छ भन्ने चै प्रष्ट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्