Main News

साउनदेखि नयाँ दर्ता र नवीकरण गर्ने सवारीमा इम्बोस्ट नम्बर प्लेट अनिवार्य

हिमालय टिभी
२०७८ असार ११ गते १३:१४
साउनदेखि नयाँ दर्ता र नवीकरण गर्ने सवारीमा इम्बोस्ट नम्बर प्लेट अनिवार्य

११ असार २०७८ काठमाडौं । सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने भएको छ ।

नयाँ दर्ता हुन आउने र नवीकरण हुने पूराना सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।

पटकपटकको विवाद र बहसपछि विभागले २०७७ माघ महिनाबाट फेरि सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड प्लेटको जडान शुरु गरेको थियो । सरकारी नम्बर प्लेटका सवारीलाई भने विभागले चैतसम्म इम्बोस्ड प्लेट जोडिसक्न समयसीमा दिएको थियो ।

विभागले नामाकरण भइसकेका प्रदेशहरुमा इम्बोस्ड जडानको तयारी अघि बढाएको हो । अहिलेसम्म बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नामाकरण भइसकेको छ ।

प्रदेश १ र २ को नाम भने टुंगिन बाँकी छ । सरकारले इम्बोस्ड प्लेट जोड्न दुईपांग्रेको हकमा २५ सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा दुई हजार ९ रुपैयाँ तोकेको छ ।

यस्तै कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ । ठूला सवारीले इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । शुल्क महँगो भएको गुनासो आएपनि विभागले यही शुल्क कायम रहने बताएको छ ।

यसअघि नै प्लेट जोड्दा शुल्क तिरिसकेका सवारीलाई पनि फेरि शुल्क तिर्न बाध्य पार्ने गरी सरकारले इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्न लागेको हो ।

इम्बोस्ड नम्बर प्लेटबारेका सबै विवाद समाधान भएकोले अब पुरानो योजनाअनुसार नै अगाडि बढ्ने विभागले बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *