Main News

राष्ट्रपतिले संविधानको गलत व्यख्या गरेको अधिवक्ता खातीको जिकिर

हिमालय टिभी
२०७८ असार ९ गते १३:०८
राष्ट्रपतिले संविधानको गलत व्यख्या गरेको अधिवक्ता खातीको जिकिर

९ असार २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ शुरु भएको छ । मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १ सय ४६ सांसदले दायर गरेको निवेदनमाथि सुनुवाइ शुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।

मुद्दामा बहस गर्न वकिलहरुका लागि १५ घण्टाको समय छुट्याइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसको तयारीमा रहेका दुवै पक्षका अधिवक्तालाई समयसीमाबारे स्मरण गराउँदै १५ घण्टा भन्दा बढी एक मिनेट पनि दिन नसकिने प्रष्ट पार्नुभएको छ ।

अहिले देउवा पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् । बहस गर्दै अधिवक्ता खम्बबहादुर खातीले राष्ट्रपतिले संविधानको गलत व्याख्या गरेको तर्क गर्नुभयो । देउवाले बहुमत पुर्‍याएपछि राष्ट्रपतिले शपथ गराउनुपर्ने खातीको जिकिर छ ।

अधिवक्ता गोविन्द बन्दीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेर ‘फ्लोर टेस्ट’ गर्नुपर्ने तर्क गर्नुभयो । बन्दीले मध्यरातमा निर्णय गरेर के गर्नुपर्ने थियो भन्दै संविधानको धारा ७६ को उपधारा १,२,३,४ र ५ सबैको प्रधानमन्त्री केपी ओली नै बन्नुपर्ने मनोविज्ञान राष्ट्रपतिमा देखिएको जिकिर गर्नुभयो ।

यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहनेगरी एमिकसक्युरी मागेको थियो । त्यसै अनुसार दुवैले दुई दुई सहयोगी पठाइसकेका छन्।

नेपाल बारबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *