Main News

पहिरोले थुनिएर ताल बनेको तामाकोशीको सहायक नदी रोङ्शी बग्न थाल्यो

हिमालय टिभी
२०७८ असार ६ गते ८:१३
पहिरोले थुनिएर ताल बनेको तामाकोशीको सहायक नदी रोङ्शी बग्न थाल्यो

६ असार २०७८ काठमाडौं । पहिरोले थुनिएर ताल बनेको तामाकोसीबाट पानी बग्न थालेको छ । नेपाल–चीन सीमानजिकै शुक्रबार रातिदेखि पहिरोका कारण थुनिएको तामाकोसी नदीको सहायक खोला रोङ्सी बग्न थालेको हो ।

पानी बग्न थालेपछि तत्काललाई गम्भीर किसिमको जोखिमको नहुने अनुमान गरिएपनि जलाशयको पानी पूर्णरुपमा खाली नभएसम्म खतरा छ । जोखिम कायमै रहेकाले सजकता अपनाउन सिमावर्ती क्षेत्र र तामाकोशीको तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको छ ।

शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोशीको सहायक रोङसी खोला थुनिएको थियो । पहिरोले थुनिएको खोला ताल बनेपछि ओभरफ्लो भएर बग्न थालेको हो ।

ओभरफ्लो भएर बग्न थालेपछि तामाकोशीमा बहाव बढेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका अनुगमन अधिकृत वरिष्ठ इन्जिनियर विमल गुरुङका अनुसार प्रतिसेकेन्ड १ सय ५० घनमटिरमा बगिरहेको तामाकोशीको बहाव बढेर २ सय ५० घनमिटर प्रतिसेकेन्ड नाघेको छ ।

उक्त क्षेत्रमा पुगेको चिनियाँ टोलीले पहिरोले ताल बनाएको रोङ्सी खोलाको बहावलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । हिजो रात परेकाले ताल खुलाउने कामलाई तीव्रता दिन नसकिएको चिनियाँ पक्षले जानकारी गराएको दोलखा प्रशासनले जनाएको छ ।

आज बिहानदेखि पुनः काम शुरु गरिने पनि चिनियाँ पक्षले जानकारी दिएको छ । थुनिएको खोला सुरक्षित रुपमा खोल्नेगरी काम थाल्ने चिनियाँ पक्षले जवाफ पठाएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

दोलखाको लामाबगरबाट १८ किलोमिटर उत्तरतर्फको रोङ्सी तामाकोसी नदीको मुख्य सहायक खोला हो । धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल खुलाउने काम भइरहेको घिमिरेले जानकारी दिनुभयो । नेपालतर्फबाट उक्त क्षेत्रमा जान असम्भव भएकाले उतैबाट टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो ।

यसैबीच माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *