चीनमा भएको भारी वर्षासँगैको पहिरोका कारण तामाकोशी नदीमा बाढीको उच्च जोखिम

५ असार २९७८ काठमाडौं । चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोकिँदा तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने जोखिम कायम रहेको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो । आज बिहानसम्म पनि अवस्था उस्तै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।
चीनका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको र पहिरोका कारण धुनिएको नदीको बहाव अहिलेसम्म खुलेको जानकारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ । तामाकोशीमा पनि पानीको बहाव स्थिर छ ।
तर जोखिम कायम रहेकाले सचेत भने रहिरहन स्थानीय प्रशासनले अपील गरेको छ । थुनिएको नदीको बहाव कुनै पनि बेला खुलेर तामाकोशी नदीमा बाढी आउन सक्ने जोखिम छ । कुनै पनि खतराको संकेत पाउना साथ प्रशासनलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्गसीया शहर र त्यसआसपासमा भारी वर्षासँगै पहिरो जाँदा स्थानीय नदीको प्रहार रोकिएको हो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि भारी वर्षाका कारण नदीहरुमा बहाव बढेर बाढी पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अपिल गरेको छ ।
जल तथा मौसम विभागले पनि होसियारी अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ। विभागले सिन्धुपाल्चोकको बाह्रबिसे भोटेकोशी नदीमा जलसतह बढेको जनाएको छ।
प्रतिक्रिया