Main News

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत, पक्षमा ३१ र विपक्षमा २७ मत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ४ गते १६:४५
गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत, पक्षमा ३१ र विपक्षमा २७ मत (भिडियो रिपोर्टसहित)

४ असार २०७८ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनु भएको छ ।

प्रदेशसभामा आज भएको मतविभाजनमा मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ मत परेको छ । ५९ सदस्यमध्ये २७ जनाले विपक्षमा मत हालेका छन् । नेकपा एमालेवाहेक सबै दलले मुख्यमन्त्री पोखरेललाई समर्थन गरेका छन् ।

मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र राष्ट्रिय जनमोर्चाका दुईदुई तथा एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । विश्वासको मत पाएपछि मुख्यमन्त्री पोखरेल निर्वाचनसम्मका लागि पदमा रहने निश्चित भएको छ । अब उहाँको कार्यकालमा अविश्वासको प्रस्ताव लैजान मिल्नेछैन ।

प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले आफ्नो नेतृत्वको सरकार टिक्नु नै स्थायित्वका लागि एकमात्र विकल्प रहेको बताउनु भएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भए पनि मुख्यमन्त्री पोखरेलले एकसातामै लिनु भएको हो । उहाँ गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

विश्वासको मत पाएपछि मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सपथ लिए लगत्तै उहाँले चारजना मन्त्री नियुक्त गर्नुभएको थियो । उनीहरुको मन्त्रालय समेत तोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *